उपचारमा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा प्रतिव्यक्ति १० लाख दिने निर्णय (विज्ञप्तीसहित)



जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिएका आफ्ना नगरभित्रका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई संक्रमणबाट मृत्यु भएमा मृतक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

कोरोना भाईरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाबाट प्रोत्साहन स्वरुप प्रति व्यक्ति दैनिक ५ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउने समेत निर्णय गरिएको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले बताए ।

मेयर बरबरियाको अध्यक्षतामा आज (सोमबार) बसेको नगरपालिका स्तरीय कोरोना भाइरस लक्षित समन्वय समितिको बैठकबाट यस महामारीलाई नियन्त्रण गर्न लकडाउन अवधिभर नगरपालिका क्षेत्रभित्रका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाईनसम्म ल्याउने र घरसम्म पुर्याउने तथा आवश्यकता अनुसार प्रादेशिक अस्पताल जनकपुरसम्म पुर्याउनुपर्ने अवस्थामा नि :शुल्क एम्बुलेन्स उपलब्ध गराउनेसमेत निर्णय गरिएको हो ।

मेयर बरबरियाले यसअघि आफ्ना नगरभित्रका स्वास्थ्यकर्मीहरुलाई कोरोना प्रोटेक्टिभ सामग्रीहरुसमेत प्रदान गरेका थिए । क्वारेन्टाइन व्यवस्थापनको लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्टसहित एप्रोन लगायतका सामग्रीहरु उनले स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरसबाट नगरवासीलाई जोगाउन प्रोटेक्टीभ एप्रोन ३ थान, लुज ग्लोभस ६०० थान, सर्जिकल ग्लोभस ४० थानसहित क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्