सिमा नाकामा बेड बिनाको क्वारेन्टाइन



जनकपुरधाम:कोरोना भाईरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि प्रदेश २ मा स्थापना भएका क्वारेन्टाइनमा अत्यावश्क समानसमेत छैन ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका सयौं स्थानहरुमा निर्माण गरेको क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कुनै पनि सुविधा उपलब्ध गराइएको छैन ।

नेपाल भारतको अधिकांश सिमा क्षेत्रमा बनाइएका क्वारेन्टाइनहरुमा बेडसमेत छैन । अन्य सुविधाको कुरा त परै जाओस । क्वारेन्टाइनहरुमा एउटा कोठामा कम्तीमा एक मिटरको फरकमा दुई देखि तीन वटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिनुपर्ने प्रावधान छ ।

तर महोत्तरीको भङ्गहा नगरपालिका वडा नं.७ बस्ने श्याम गिरीले सरकारको गैरजिम्मेवारपूर्ण रबैयाप्रति व्यङ्गय गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपाल भारत सिमामा बनाइएको क्वारेन्टाइनमा खोइ त सामाजिक दूरी ? यो भन्दा राम्रो त सबैलाई घर पठाए हुन्थ्यो ।’

जबकि सरकारले क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई प्रहरीले पाउने रासनभत्ता बराबरको रकम दिने निर्णय गरेको छ । उनीहरुलाई सञ्चार, स्वास्थ्य, बिजुली, सडक र पानीको पूर्ण सुविधा हुनुपर्ने उल्लेख छ ।

सय जना बस्ने क्वारेन्टाइनमा सुपरिवेक्षणका लागि विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृत, एक स्वास्थ्य परिचारिका, एक प्यारामेडिक, आवश्यकता अनुसार ल्याब टेक्निसियन, फर्मासिस्ट तथा एम्बुलेन्स सञ्चालनका लागि दुई जना प्यारामेडिक र एक चालकको व्यवस्था हुनुपर्दछ ।

फोहोर व्यवस्थापनका लागि सुपरिवेक्षकसहित ५ कर्मचारी राख्नुपर्ने मापदण्ड छ । यता प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सप्तरीमा सबै भन्दा बढी १ सय ३८ जना, रौतहटमा ९२ जना, धनुषामा १२ जना, सिरहामा १० जना, बारामा ५ जना, सर्लाहीमा २ जना गरि प्रदेशभरिमा २ सय ५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने २ जनालाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्