मिशन दहेजमुक्त समाजद्धारा २ हजार अति विपन्न परिवारलाई राहत



जनकपुरधाम : विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण एकातर्फ समग्र विश्व आक्रान्त बनेको छ भने अर्कोतर्फ यसको असर सबैभन्दा बढि गरिव र विपन्न परिवारका व्यक्तिमाथि परेको छ ।

कोरोनाको सन्त्रासका कारण गरिव परिवारले खाना पाउनसमेत मुस्किल भएको छ । दैनिक मजदूरी गरेर छाक टार्दै आएका व्यक्तिहरु यसको प्रत्यक्ष मारमा परेका छन् । यस्ता समस्याहरुलाई दृष्टिगत गर्दै मिशन दहेजमुक्त समाज प्रदेश २ ले गरिव, विपन्न परिवारका व्यक्तिहरुलाई राहत सामग्री वितरण गरेको छ ।

मिशन दहेजमुक्त समाजले सोमबार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं.४,५,६ र वडा नं. २३ लादोबेलाका करिव २ सय ५० अति विपन्न परिवारलाई प्रतिपरिवार चामल ५ किलो, आलू २ किलो, प्याज १ किलो, खानेतेल आधा लिटर, नून १ किलो, मास्क २ थान गरि करिव ८ लाख ५० हजारको सामग्री वितरण गरेको हो ।

मिशन दहेजमुक्त समाजले मंगलबारसम्ममा २ हजार अति विपन्न परिवारका व्यक्तिलाई प्रतिपरिवार यी खाद्यान्न सामग्री बाँड्ने योजना रहेको मिशन दहेजमुक्त समाजका अध्यक्ष मो.जब्बार नूरीले बताए । राहत सामग्री खरिद गर्नका लागि धनुषाको बेङ्गा शिवपुरका मो.गफ्फार राइनले नगद सहयोग गरेका थिए ।

राहत वितरणमा मिशन दहेजमुक्त समाज प्रदेश २ का महासचिव ईद मोहम्मद साफी, दहेजमुक्त अभियन्ता साजिद हुसैन लगायत स्थानीय युवाहरुको समेत उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्