२७ घण्टा लामो अपरेसन गरेर टाउको जोडिएका दुई बालकलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं : अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो समय अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिले भइरहेको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६५ पुगेको छ भने एक लाख ६४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याउने डाक्टर गूडरिचको हिजो (सोमबार) कोरोनाको संक्रमणका कारण मृत्यु भएको सीएनएनले जनाएको छ । डाक्टर गूडरिचको ७३ वर्षका थिए ।

सन् २०१६ को अक्टोबर १४ मा डाक्टर गूडरिचको नेतृत्वमा रहेको ४० जना चिकित्सकको टोलीले २७ घण्टा लामो अपरेसनपनि जेडन र एनियसलाई अलग गरेका थिए । मोन्टेफियोरे अस्पतालमा अपरेसन भएका बेला जेडन र एनियस १३ महिनाका थिए । जेडन र एनियस को शारीरिक विकास एउटै क्रममा भइरहेको बताइन्छ ।

अमेरिकाका प्रसिद्ध पेडियाट्रिक न्यूरोसर्जन डाक्टर गूडरिचले ब्रोंक्स अस्पतालमा पेडियाट्रिक न्यूरोसर्जरी विभागमा ३० वर्षभन्दा बढी बिताएका थिए । त्यस्तै अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनमा पनि उनले लामो समय न्यूरोलोजिकल सर्जरी, पेडियाट्रिक्स तथा प्लास्टिक सर्जरीका विषयमा प्राध्यापन गरेका थिए ।

अस्पतालका अनुसार उनी ओरेगनका स्थायी बासिन्दा थिए । उनको श्रीमती र ३ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्