विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन सम्पन्न



चितवन : कोरोना भाइरस (काभिड-१९) को सम्भावित जोखिम हुन नदिन भरतपुर महानगरपालिकाले आफ्नो महानगरभित्र भारत लगायत अन्य देशमा वैदेशिक रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरेको छ ।

महानगरका २९ वटै वडामा सो तथ्याङ्क सङकलन गरिएको महानगर प्रमुख रेनु दाहालका स्वकीय सचिब गोपाल न्यौपानेले जानकारी दिए । उनका अनुसार १५ दिन अघिदेखि महानगरमा आएकाको तथ्याङ्क लिइएको हो ।

उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या आइपरेमा तत्काल अस्पतालमा जान आग्रह गरिएको उनले जानकारी दिए । यसका लागि महानगरपालिकाको समन्वयमा कोरोना अस्थायी अस्पतालसमेत सञ्चालनमा ल्याइएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार सो अवधिमा २६५ जना महानगरलिकाभित्र आएका थिए । ती मध्ये सबै भन्दा धेरै १०५ जना भारतबाट स्वेदेश आएका महानगरको तथ्याङ्कले देखाएको छ । भारत पछि दुबई ३४, कतार २४, अष्ट्रेलिया १४, साउदी अरब ९ जना रहेका छन् ।

वडा नं.२१ मा सबैभन्दा धेरै ३१, वडा नं.१६ मा २६, वडा नं.२४ मा १७ जना वडा नं.५ मा १४ जना वैदेशिक रोजगारबाट फर्किएका रहेका छन् । अन्य वडामा पनि सोही अनुपातमा विदेशबाट नेपाल फर्किएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्