अब काठमाडौं बाहिर दैनिक हजार जनाको कोरोना जाँच हुने



काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस (कोविड-१९) संक्रमणको जाँच हुने भएको छ ।

सरकारले तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरउन्नती गर्नुपर्ने स्थानमा पोर्टेबल पीसीआर मेसिनबाट जाँच शुरु गर्न लागेको हो । हाल उपत्यका बाहिर धरानमा परीक्षण सुरु भइसकेको छ भने हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याव तत्काल संचालन गर्न सक्ने भएको छ ।

अन्य प्रदेशको हकमा भने आइतवार चीनबाट खरिद गरेर ल्याइएका पोर्टेबल पीसीआर मेसिनमार्फत परीक्षण गरिने भएको छ । ५ वटै पोर्टेबल पीसीआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको कोविड-१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिएका छन् ।

उनले भने,‘हामीले धरानबाट परीक्षण शुरु गरिसकेका छौं, अब स्थायी ल्याब सञ्चालन गर्न स्तरोउन्नति गर्नुपर्ने ठाउँमा आइतबार ल्याइएका मेसिन पठाएर तत्कालै परीक्षण शुरु गर्छौं ।’ प्रदेशहरु मेसिन पाएसंगै अब उपत्यका बाहिरबाट दैनिक १ हजार जना सम्मको परीक्षण हुन सक्ने भएको छ ।

उनले उपत्यका बाहिर स्तरोउन्नति गरी कोविड-१९ परिक्षण गर्न सक्ने प्रयोगशालाको अध्ययनका लागि टोलीसमेत परिचालन भइसकेको बताए । मंगलबारबाट पोखरामा पोर्टेबल पीसीआर मेसिनबाट कोविड-१९ जाँच शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले जाँचलाई तिव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुर पश्चिमको धनगढीबाट तत्काल पीसीआर मेसिनबाट जाँच शुरु गर्ने तयारी गरेको छ ।
पीसीआर मेसिनबाट परीक्षण शरु भएसंगै प्रदेश २ मा जनकपुर अस्पतालमा रहेको ल्यावलाई स्तरोउन्नति गरी सञ्चालनमा ल्याउन जनशक्ति पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा काठमाडौं बाहिर हेटौंडामा रहेको किटजन्य रोग नियन्त्रण केन्द्रमा रहेको प्रयोगशालालाई प्रयोगमा ल्याउन विज्ञको टिम आइतवार त्यहाँ गएको बताइएको छ ।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोशगाला, प्रदेश ५ मा प्रदेश अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जको ल्याबलाई स्तरोउन्नति गरी संचालनमा ल्याउने मन्त्रालयको तयारी रहेको छ ।

त्यस्तै कर्णालीको कर्णाली प्रादेशिक अस्पताल र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा पनि ल्याब स्तरोउन्नति गर्न टोली खटेको मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा.गुणराज लोहोनीले जानकारी दिएका छन् ।

आइतवारबाट परिक्षण शरु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले १ चरणमा १२ जनाको स्वाव पीसीआर गर्न सकिने प्रतिष्ठानका कार्यवाहाक उपकुलपती प्राडा गुरु खनालले जानकारी दिए । उनले आवश्यकता परे एक पटकमा २४ जना सम्मको परिक्षण गर्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्