वीर र पाटन अस्पतालमा मृत्यु भएका दुवैको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा हिजो (सोमबार) मृत्यु भएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ ।

धादिङको खनियाँ गाउँपालिका–४ का ती ३५ वर्षीय युवक र काठमाडौँ चन्द्रगिरीस्थित सतुंगलकी ३४ वर्षीया महिलाको उपचारका क्रममा सोमबार निधन भएको थियो ।

युवकको मृत्यु भएपछि उनको स्वाब (नमूना) परीक्षणका लागिपठाइएको थियो । तर, रिपोर्ट कोरोनाभाइरस नेगेटिभ देखिएको हो ।

मंगलबार उनको रिपोर्ट प्राप्त भएको जनाउँदै पाटन अस्पतालका निर्देशक विष्णु शर्माले कोरोना भाइरसको संक्रमण नदेखिएको बताएका हुन् ।

चैत १३ गते भारतबाट फर्किएका ती युवकमा उच्च तापक्रम देखिपछि आइतबार पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

उता वीर अस्पतालमा सोमबार उपचारकै क्रममा मृत्यु भएकी महिलाको रिपोर्ट पनि कोरोना नेगेटिभ देखिएको हो । उनलाई निमोनियाको लक्षण देखिएपछि आइतबार वीर अस्पतालमा भर्ना गरिएको थियो ।

मृत्यु भएपछि कोरोना संक्रमणको आशंका निवारण गर्न उनको स्वाब पनि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । मंगलबार प्राप्त उनको रिपोर्ट पनि कोरोना नेगेटिभ देखिएको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्