निजी अस्पताललाई सर्वोच्चको आदेश–‘कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउनुस्’



काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ । आज (मंगलबार) सर्वोच्च निजी अस्पताललाई कुनैपनि बहानामा कोरोन संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै उपचार गर्ने व्यवस्था मिलाउन आदेश जारी गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर भएको रिटको सुनुवाई गर्दै सर्वोच्चले निजी अस्पतालहरुलाई यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेल समेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो ।

‘निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आईसीयू कक्ष, भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक,परिचारिका,एम्बुलेन्स चालक, सफाइ श्रमिकलगायतको सुरक्षाको यथोचित प्रवन्ध मिलाउनु’ सर्वोच्चले जारी गरेको आदेशमा भनिएको छ ।

रिटको पक्षमा रिट निवेदक पौडेल र सरोजकृष्ण घिमिरेसहित वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अघिकारी, अधिवक्ता पूर्णिमा रिमाल गुरागाई, टीकाराम भट्टराई, राजु खड्कालगायतले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्