कोरोना संक्रमण नियन्त्रणका लागि उपलब्ध रकम खर्च हुन नसक्नु दु : खको विषय : मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकम जिल्लाहरुमा खर्च हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि भएको कामबारे प्रगति बुझ्नका लागि बोलाइएको बैठकमा उनले जिल्लाहरुलाई उपलब्ध गराइएको रकमबाट खर्च हुन नसक्नु दु : खको विषय रहेको बताएका छन् ।

प्रदेश सरकारले कोरोना संक्रमण हुन नदिनका लागि प्रत्येक जिल्लालाई ५०-५० लाख रुपैयाको दरले रकम उपलब्ध गराएको थियो । उनले कुनै पनि जिल्लामा कोरोना संक्रमण रोक्नका लागि रकमको प्रयोग हुन नसक्नु दुखद पक्ष रहेको बताए ।

उनले भने ‘तपाईहरुले सेनीटाइजर वितरण गरेको भएको म खुशी हुन्थे वा भोकै रहेको व्यक्तिलाई खाना खुवाएर रकमको प्रयोग गरेको भए मलाई खुशी हुन्थ्यो, मलाई लागेको थियो तपाईहरुले यो बैठकमा थप बजेटको माग गर्नु हुन्छ तर त्यस्तो देखिएन ।’ उनले हाम्रो प्रदेशमा देशमा कोरोना संक्रमण हुन नदिनका लागि जहाँबाट हुन्छ रकमको सदुपयोग गर्न प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिए ।

भाइरसको संक्रमणबाट बच्नका लागि के के उपाय अपनाउन सकिन्छ त्यसका लागि योजना ल्याउनुस हामी कार्यान्वयन गर्न तयार छौँ उनले भने । उनले कोरोना संक्रमण नियन्त्रणका लागि जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । उनले अहिलेको अवस्थामा कुनै पनि किसिमको किन्तु परन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिए ।

कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको बेलामा समान्य रुघा खोकी समेतको उपचारमा चिकित्सक तथा अस्पतालहरुले हेल चक्र्याई गरि रहेको गुनासो आएको भन्दै उनले त्यस्ता अस्पताल र चिकित्सकहरुलाई सूची तयार गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए ।

उनले भने ,‘ राज्यको सुविधा प्रयोग गरे पनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गर्छौ, तपाईहरु सिफारिस गर्नुस लाइन्सेन्स खारेजी सम्मको कारबाही हुन्छ ।’ महामारी नियन्त्रणको लागि आवश्यक्ता अनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझव दिंदै उनले रकमको आभाव हुन नदिने प्रतिबद्धता जनाए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राखेको जिज्ञासामा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायले सम्बन्धित विषयहरुमा आ-आफनो धारणा राखे । बैठकमा ४ वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकसहितको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारीहरुले महामारी नियन्त्रणको लागी जिल्लामा भएका प्रयास र अगामी दिनमा गर्नुपर्ने योजनाहरुबारे जानकारी गराएका थिए । यता कोरोना महामारी नियन्त्रण तथा यसका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम उपलब्ध गराएको छ ।

सिटिजन्स बैंक प्रादेशिक कार्यालयले ७ लाख र कृषि विकास बैंकले ५ लाख रुपैयाँ उपलब्ध गराएको हो । दुबै बैंकका प्रतिनिधिहरुले आजै मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्