पहिलो पटक रोकियो चैते दशैँमा हनुमानढोकामा दिइने बलि



काठमाडौं : वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।

आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोका दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन अहिले पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ ।

अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ ।

विगतका वर्षमा चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेकाले घरबाटै मानसिकरूपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले हाफ्नो शरीरको रक्षा गर भन्ने वचन रहेकाले महामारीको सङ्क्रमणबाट बच्न घरमै पूजा आराधनाका काम गर्न सकिन्छु, उनले भने। बडादशैँ जस्तै चैते दशैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनका लागि गरिएको उनको भनाइ छ ।

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।

चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गइ पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस वर्ष विशेष परिस्थिति भएकाले घरबाटै मानसिक पूजा गरेको सम्झी दर्शन गर्न सकिने उनले बताए ।

हनुमानढोकामा बलि नदिइने

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलिसहित पूजा गरिने गरिएकामा यस वर्ष पूजा हुने तर बलि नदिइने भएको छ ।

कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिने भनी माथिबाट निर्देशानुसार गर्न लागिएको दशैँघरका मूल पुजारी देवरजा अर्यालले बताए ।

चैत्र शुक्ल प्रतिपदादेखि नै दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती ९चण्डी० पाठ भने भइरहेको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दशैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत छ । रासस

प्रतिक्रिया दिनुहोस्