‘क्वारेन्टाइन निर्माण तीव्र गतिमा’



काठमाडाैं : काेरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माण गरिरहेका छन् । देशैभरि क्वारेन्टाइन निर्माण गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ ।

क्वारेन्टाइन व्यवस्थापनको संयोजकको जिम्मेवारी पाउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माण सुरु गरिसकेको बताए । उनले भने, “हालसम्म निर्माण भएका ठाउँको तथ्याङ्क आइसकेको छैन तर अधिकांश ठाउँमा निर्माण सम्पन्न भई सञ्चालनमा समेत आइसकेका छन् । ”

मापदण्डअनुसार नै क्वारेन्टाइन बन्नेछन् । सङ्घीय सरकारअन्तर्गत पाँच हजार, सातवटै प्रदेशअन्तर्गत दुई÷दुई हजार, छवटा महानगरपालिकाले दुई÷दुई हजार, प्रत्येक उपमहानगरपालिकाले एक÷एक हजार, ७७ वटै जिल्लामध्ये हिमाली जिल्लामा पाँच सय, पहाडी जिल्लामा एक हजार, तराईका जिल्लामा दुई÷दुई हजारका दरले क्वारेन्टाइन बनाउने योेजना रहेको जानकारी उनले दिए । उनले भने, “बनेका क्वारेन्टाइन प्रयोगमा नआउन पनि सक्छन् तर तयारी सबै ठाउँमा गर्ने निर्देशन भएको छ । ”

क्वारेन्टाइन निर्माणमा एकरूपता ल्याउन मापदण्ड बनाइएको र सोही मापदण्डअनुसार सबै ठाउँमा निर्माण भइरहेको बताउँदै उनले कतिपय ठाउँमा सञ्चालनमा समेत आइसकेको बताए । काठमाडौंँ उपत्यकाको खरीपाटी, कर्मचारी प्रशिक्षण प्रतिष्ठान केन्द्र जाउलाखेल, कृषि तालिम केन्द्र बोडे, पशुपति धर्मशालालगायत अन्य नयाँ चार ठाउँमा पनि क्वारेन्टाइन निर्माण भइरहेको उनले बताए ।

जोरपाटीस्थित काठमाडौंँ मेडिकल कलेजमा पनि क्वारेन्टाइन बनाउने तयारी भएको छ । त्यहाँ डेढ सयदेखि दुई सयसम्म अट्ने बेड छन् । त्यहाँ होस्टल पनि छन् । अस्पतालले क्वारेन्टाइन बनाउन होस्टल पनि दिने कुरा भइरहेको छ । “त्यहाँ केही विद्यार्थी रहेका उनीहरूलाई अन्यत्र राख्ने कुराकानी भएको छ । अन्य ठाउँमा पनि क्वारेन्टाइन बनाउन हेर्ने काम भइरहेको छ”, उनले जानकारी दिए ।

नगरकोटमा पनि ठाउँ हेर्ने काम भएको भन्दै उनले त्यहाँका होटल व्यवसायी सहयोग गर्न तयार रहेको बताए । उनले नगरकोटमा दुई हजारभन्दा बढी कोठाको व्यवस्था गर्न सकिने स्पष्ट पार्नुभयो । त्यसको व्यवस्थापनका लागि एउटा समिति बनेको जानकारी उनले दिए । बूढानीलकण्ठ स्कुललाई पनि हेरेर राखिएको छ भने लिटिल एन्जेल्स स्कुलसँग पनि कुरा भएको जानकारी उनले दिए ।

मन्त्री भट्टराईले क्वारेन्टाइन सञ्चालनका लागि रहने जनशक्तिलाई तालिम दिने काम भइरहेको बताए । “सकभर जसका होटल, अस्पताल छन् त्यहीँका कर्मचारी प्रयोग गर्ने र उनीहरूलाई तालिम दिने कुराकानी पनि भइरहेको छ”, उनले स्पष्ट पार्नुभयो । अस्पतालमा रहेका जनशक्तिलाई सरकारले मेडिकल सामग्री दिने र क्वारेन्टाइनका रूपमा सञ्चालन गर्ने पनि छलफल भएको जानकारी उनले दिए ।

स्थानीय तहले आफ्नो बजेटबाटै क्वारेन्टाइन निर्माण गर्ने जानकारी उनले दिए । “क्वारेन्टाइनका लागि चाहिने सामग्रीको व्यवस्था स्थानीय तहले नै गर्नेछन् । बजेट अपुग भयो भने सङ्घीय सरकारले सहयोग गर्नेछ”, उनले स्पष्ट पारे। गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्