बिरानो मातृभूमि : ‘मरे पनि आफ्नै देशमा मर्छु भनेर महाकालीमा हाम्फालेँ’



काठमाडौं : मंगलबार दिउँसो करिब १ बजे, महाकाली नदी पारिपट्टि किनारमा एक युवकले एकाएक लुगा फुकाले । लुगा झोलामा हाले, झोला टाउकोमा बाँधे, अनि महाकालीमा हेलिए । केहीबेरमै वारि किनार आइपुगे । उनले देशको माटो त टेके, तर खुसीको सास फेर्न सकेनन् । किनभने वारि आएलत्तगै प्रहरीले पक्राउ गर्‍यो । महाकालीको चिसो पानीमा चोबलिएर काम्दै देश छिरेका उनी प्रहरीले समातेपछि झन् अत्तालिए । आफ्नै देश टेक्दा, आफ्नै देशका सुरक्षाकर्मीसामु अवाक भए । 

उनी हुन्– बैतडीको डिलासैनी गाउँपालिका–२ सिमराका २१ वर्षीय लोकेन्द्र बोहरा । घरमा कमाउने कोही नभएपछि दुई महिनाअघि गाउँका साथीसँगै रोजगारीका लागि भारत गएका थिए । पिथौरागढ जिल्लाको पञ्चाचुली क्षेत्रमा सडक निर्माणको काम पनि पाए । तर, चैत नलाग्दै कोरोनाको हल्ला फैलियो । ठेकेदारले घर जान भनेपछि शनिबार उनीसहित ११ नेपाली मजदुरले नेपालको यात्रा तय गरेका थिए । सोमबार धार्चुला आइपुगेका थिए । 

‘दुई दिनसम्म लगातार हिँडेर सोमबार धार्चुला आइपुगें । त्यहाँ अन्य नेपालीलाई राखिएको ठाउँमा खाना खाएँ । कान्जीहाउसमा शौचालयको छतमा रात काटेँ,’ उनले भने, ‘आफ्नै देश छिर्न रोक लागेकोमा कटक्क मन काट्यो । जे होला भनेर आज महाकाली तरेको हुँ । अब नेपाल सरकारले जे गर्छ, त्यही टर्छ ।’

बैतडीकै डिलासैनी–७ धामी गाउँका २१ वर्षीय अमरसिंह धामीले पनि मंगलबार महाकालीमा पौडेर नेपालमा पाइला टेके । उनीसहित १३ जनाको समूह भारतबाट आइतबार बिहान हिँडेर सोमबार बेलुका सीमावर्ती क्षेत्र बालुवाकोट आइपुगेको थियो । 

अमरसिंह पनि रहरले भारत गएका थिएनन् । १० कक्षासम्म पढेका उनी परिवारको पेट पाल्न रोजगारी खोज्दै पुगेका थिए । कोरोनाको त्राससँगै सडक निर्माणको रोजगारी गुमेपछि घर फर्किएका हुन् । तर, सीमामा सरकारले रोकेकोमा उनको चित्त दुखाइ छ । ‘परिवार धान्न भारत जानुपर्‍यो । अहिले दुःखमा आफ्नो घर फर्किन पनि नपाउने ?’ उनले भने, ‘बालुवाकोटमा खानबस्नको व्यवस्था नभएपछि जे त पर्ला भनेर महाकाली तरेर आएको हुँ ।’ उनीसँगै डिलासैनी–३ र पुर्चौडी नगरपालिका–३ का ६ जना महाकाली तरेर नेपाल छिरेका छन् । 

पौडिन सक्ने तरेर आए, तर नसक्ने सयौँ नेपाली भारतीय क्षेत्रमै अलपत्र छन् । अमरसिंहसँगै महाकाली तरेर आएका पुर्चौडी–८ का २५ वर्षीय दीपक साउद भारततर्फ बाटाभरि बालबच्चासहित सयौँ अलपत्र परेको बताउँछन् । भारतीय प्रहरी र पसलेले नेपालीलाई अपराधी आएजस्तो व्यवहार गर्ने गरेको बताए । पुल बन्द गरेर पारिपट्टि नै खान र बस्नको व्यवस्था गरिएको भनिए पनि अव्यवस्थित रहेको उनले बताए । ‘पारि खाने र बस्ने व्यवस्था छ भनेर के गर्ने, भिडभाड र फोहोरले झन् संक्रमणको डर छ । हामीले त त्यही डरले आइतबारदेखि केही खाएको छैन,’ उनले भने । 

कोरोनाको सन्त्रासमा विश्वका अन्य देशले विदेशमा रहेका आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेर लगिरहेको छ । तर, नेपालले सीमामा आएर चिच्याइरहेका नागरिकलाई देश छिर्न दिएको छैन । आफ्ना नागरिक ल्याएर सुरक्षित राख्नुपर्नेमा प्रशासनले सीमा क्षेत्रमै अलपत्र छाडेको छ । दार्चुला जिल्ला प्रशासनले आत्तिएर ज्यान जोखिममा नपार्न चेतावनी दिँदै हाल रहेकै ठाउँमा सुरक्षित बस्न भनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भने, ‘अहिले जो जहाँ छ, त्यहीँ बस्नुको विकल्प छैन ।’

तर, प्रशासनले सीमानाकाबाट भित्रिन रोक्दा गलत तथा जोखिमपूर्ण बाटो प्रयोग गरेर भित्रिने बढिरहेका छन् । यसले गाउँमा संक्रमणको जोखिम बढाएको छ । सोमबार र मंगलबार महाकाली तरेर ४० जना भित्रिएकामा १० जना सम्पर्कमै छैनन् । 

भारततर्फ महाकाली नदी किनारमा थुनिएका नौ सय ६६ नेपालीलाई विभिन्न पाँच ठाउँमा राखिएको छ । कान्जीहाउसमा तीन सय ८०, धारचुलाको मिनी स्टेडियममा तीन सय पाँच, जौलजिबीमा दुई सय, बालुवाकोटको महाविद्यायमा ६० र फायर ब्रिगेडको भवनमा ३२ नेपाली राखिएको भारतीय पत्रकार राकेश तिवारीले जानकारी दिए ।महाकाली तरेर आएका ३४ जनालाई भने व्यास गाउँपालिका र महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले बताए । 

व्यवस्थापनको जिम्मा कसैले नलिँदा नेपालीहरू भारतमै अलपत्र परेका हुन् । महाकाली नगरपालिकाले सबैलाई क्वारेन्टाइनमा राख्न नसक्ने र सम्बन्धित स्थानीय सरकारले जिम्मेवारी लिन नखोजेपछि समस्या भएको हो । ‘स्थानीय सरकारहरू प्रमुख जिल्ला अधिकारीभन्दा माथि छन्, प्रदेश सरकारलाई स्थानीय सरकारको जति मात्रै अधिकार छ, समन्वय गर्ने जिल्ला समन्वय समितिसँग आर्थिक व्यवस्थापन गर्ने अधिकार छैन,’ प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने । सम्बन्धित जिल्ला र स्थानीय सरकारसँग समन्वय गरेर महाकालीपारिबाट नेपाली ल्याउन मुख्यमन्त्री सकारात्मक भए पनि समन्वय हुन नसकेको उनले बताए । 

कञ्चनपुर : चार दिनदेखि भोकभोकै हिँडेर भारतीय प्रहरीको लाठी खाँदै आएका नेपाली कञ्चनपुरको गड्डाचौकीपारि पनि दुई दिनदेखि खुला चौरमा रात काट्न बाध्य छन् । भारतीय प्रहरीले वनबासामा ८३ र टनकपुरमा १७ नेपालीलाई रोकिदिएको छ । 

टनकपुरमा अलत्रप घोडाघोडी नगरपालिका–५ कैलालीका दीपक बोहराले चार दिनदेखि भोकै रहेको बताए । ‘दुई–चार पैसा कमाउन हिमाञ्चल गएको थिएँ । तर, कोरोनाले काम बन्द भयो । त्यहीँ बस्दा झन् समस्या हुने देखेपछि पैदल हिँडेर फर्किएको, तर यहीँ रोकिदियो,’ उनले भने, ‘देश पुग्न दुई किलोमिटर मात्रै थियो, भारतीय प्रहरीले आउनै दिएन ।’ 

दीपकसहित १७ जना मंगलबार बिहान ११ बजे टनकपुर आइपुगेका थिए । स्वास्थ्य परीक्षण गर्दा कसैमा समस्या नदेखिएपछि भारतीय प्रहरीले जताबाट आएको उतै जान दबाब दिइरहेको उनले बताए । 

टनकपुर नाका भएर ब्रह्मदेव (नेपाल) प्रवेश गरेका घोडाघोडी नगरपालिका–५ सुख्खडका दानबहादुर भाटले चम्पावतदेखि ७२ घन्टा लगाएर नेपाल पुगे पनि घर जान नपाएको दुखेसो पोखे । ‘हामी मंगलबार बिहान ८ बजे टनकपुर नाका भएर ब्रह्मदेव पुगेका थियौँ,’ उनले भने, ‘प्रहरीले यहाँ पुग्दा रोकिदियो ।’ महेन्द्रनगरदेखि ९१ किलोमिटर दूरीमा रहेको चम्पावत सवारीसाधनमा गए तीा घन्टामा पुगिने भए पनि उनीहरू ७२ घन्टा हिँडेरै आएका हुन् । भारतीय प्रहरीको कुटाइ खाँदै नेपाल छिरे पनि आफूसँगै १८ जना घर जान नपाएको दानबहादुरले गुनासो गरे । 

भारतको नैनीतालमा मजदुरी गर्ने आलिताल गाउँपालिका–८ डडेल्धुराका महावीर बोहरासहित ८३ जनालाई पनि भारतीय प्रहरीले सोमबार राति ७ बजेदेखि वनबासामै रोकिदिएको छ । उनीहरूलाई वनबासाको एक सरकारी विद्यालयमा राखेको छ । महेन्द्रनगरदेखि नैनीताल एक सय ३९ किलोमिटर दूरीमा छ । सवारीसाधनबाट चार घन्टाको दूरी रहे पनि उनीहरू ३२ घन्टा लगाएर वनबासा आइपुगेका थिए । ‘चैत १८ देखि नेपाल खुल्ने हल्ला थियो,’ महावीरले भने, ‘त्यही आसमा हामी भारतबाट प्रहरीको कुटाइ र खप्की खाँदै आयौँ । तर, सीमामा रोकिदियो ।’ 

महावीरसँगै हलद्वानीबाट आएका गोदावरी नगरपालिका–११ कैलालीका गणेश विकले भारतमा कोरोनाका कारण सबै क्षेत्र बन्द भएपछि संकटमा ज्यान जोगाउन स्वदेश फर्केको बताए । ‘हामी मरे पनि आफ्नै जन्मभूमिमा मर्न चाहन्छौँ,’ उनले भने, ‘घर–गुजारा चलाउन बाध्यताले अर्काको देश गएका थियौँ, तर अहिले घर फर्किँदा यो आपत आइलाग्यो ।’ 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरिप्रसाद खतिवडाले सीमा बन्द भएको अवस्थामा भारतमा रोकिएकाहरूलाई ल्याउन नसकिने बताए । ‘जो जहाँ छन्, त्यहीँ बस्ने हो,’ ‘प्रजिअ खतिवडाले भने, ‘सीमा खुला गर्न सरकारले निर्णय गर्नुपर्छ ।’ 

महोत्तरी : महोत्तरीको सीमानाका सम्सी हुँदै नेपाल आउन लागेका १७ नेपालीलाई भारतमै रोकेर क्वारेन्टाइनमा राखिएको छ । एसएसबीले सीमावर्ती कन्हमास्थित क्वारेन्टाइनमा राखेको हो । भारतको लुधियाना, हरियाणा, लखनउ र नोइडाबाट उनीहरू मंगलबार सीमा क्षेत्र आइपुगेका थिए ।

सबै यात्रीलाई १४ दिन कन्हमास्थित विद्यालयमा राखिने व्यवस्था गरिएको एसएसबीका कम्पनी कमान्डर इन्स्पेक्टर अविनाश जाखडले बताए । सबैलाई खानाको समेत व्यवस्था गरिएको उनको भनाइ छ । सबै नेपालीको कोरोनासमेत परीक्षण गरिएकोमा नतिजा नेगेटिभ आएको उनले बताए । 

भैरहवा : रूपन्देहीको बेलहिया नाका हुँदै भित्रिन लागेका दुई सय ९८ नेपाली पनि भारतीय भूमिमा तीन दिनदेखि अलपत्र छन् । उनीहरू रूपन्देही, अर्घाखाँची, गुल्मी, चितवनलगायत जिल्लाका हुन् । अलपत्र परेकामा बालबालिकासमेत छन् । 

राति उनीहरू दशगजामै सुतेका थिए । स्थानीय रमेश थापा, अर्जुन गिरी, रमेश पोखरेललगायतले विभिन्न संघसंस्थासँग समन्वय गरेर खाना खुवाएका थिए । सिद्धार्थनगर नगरपालिकाले भने उनीहरूलाई नेपाल ल्याएर व्यवस्थापन गर्ने जनाएको छ । नगरप्रमुख हरिप्रसाद अधिकारीले उनीहरूलाई भैरहवाको प्रतिमान निमा मेमोरियल हेल्थ इन्स्टिच्युटको परिसरमा राख्ने गरी प्रक्रिया अघि बढाएको बताए । प्रदेश ५ सरकारले पनि सीमामा अलपत्र नागरिकलाई प्रक्रिया मिलाएर क्वारेन्टाइनमा राख्न अनुमति दिएको छ । तर, केन्द्रले अनुमति नदिएकाले उनीहरू रोकिएका हुन् । 

बाँके : बर्दियाको बाँसगढी नगरपालिका–३ महादेवका गोकुल थापा दिल्लीमा भिभो मोबाइल कम्पनीमा काम गर्थे । कोरोना फैलिएसँगै कम्पनी बन्द गरेर मालिकले निकालिदिए । आपत्मा उनले देश सम्झे, घर सम्झे । 

झोला बोकेर घर निस्केका उनले दिल्लीमै प्रहरीको लाठी खाए । कतै बस त कतै ट्रक चढ्दै, ठाउँठाउँमा भारतीय प्रहरीको लाठी, बुट र खप्की खाँदै सोमबार रूपैडिहा आइपुगे । तर, रूपैडिहामा पनि भारतीय प्रहरीले छाडेन । 

गोकुलजस्तै भारतका विभिन्न ठाउँबाट रूपैडिहा आइपुगेका एक सय ६४ नेपालीलाई भारतीय प्रहरीले सोमबार राति ट्रकमा हालेर नेपालतर्फ जंगल पु¥यायो, अनि लाठी बर्साउँदै लखेट्यो । 

‘कति कुटाइ र अपमान खेप्दै आइयो भनिसाध्ये छैन,’ गोकुलले भने, ‘आफ्नै राज्यबाट हामीलाई राम्रो व्यवहार छैन, अर्काको अपमानको के कुरा गर्नु ?’ एक सय ६४ मध्ये एक थिए– बाँकेको बैजनाथ गाउँपालिका–३ का दृष्टिविहीन गणेश गन्धर्व । उनी अर्काको सहारामा सीतापुरबाट २५ किलोमिटर हिँडेर रुपैडिया आइपुगेका थिए । ‘अर्काको सहारामा सीतापुरबाट २५ किलोमिटर हिँडेर रुपैडिया आइपुगेँ । तर, भारतीय प्रहरीले कुट्यो,’ गणेशले भने, ‘दुई दिनदेखि राम्रोसँग पानी पनि पिउन पाएको छैन । खानेभन्दा पनि मानसिक तनाव बढी भोग्नुपर्‍यो ।’ 

मंगलबार बिहान सशस्त्र प्रहरीले उनीहरूलाई जंगलबाट उद्धार गरेर निर्माणाधीन सुक्खा बन्दरगाहको खुला मैदानमा राखेको छ । तर, जम्मा एक कट्ठा क्षेत्रफलमा एक सय ७४ जना राखिएकाले संक्रमण फैलिने जोखिम छ ।

दार्चुलाका सिडिओ यदुनाथ पौडेल भन्छन्–कोही नदीमा हाम्फालेर नांगै वारि आउँछ भन्ने आँकलन हामीले गरेका थिएनौँ

भारतबाट नेपाल आउन खोजेका, तर महाकालीपारि रोकिएका नेपाली मजदुरको हृदयविदारक तस्बिर र भिडियो तीन दिनदेखि राष्ट्रिय बहसको विषय बनेको छ । उनीहरूको उद्धार गर्न खासमा के कुराले अवरोध गरिरहेको छ ? 

मुख्य विषय उनीहरू सुरक्षित हुन् भन्ने हो । उनीहरूलाई अहिले भारततिरै बस्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि भारत सरकारसँग समन्वय भएको छ । यता भएका भारतीय मजदुरलाई हामीले व्यवस्थापन गर्ने, उता भएका नेपालीलाई भारत सरकारले व्यवस्थापन गर्ने समझदारी भएको छ । एउटै उद्देश्यका लागि दुई देशले लकडाउन गरेको हुनाले सहकार्य गर्ने सहमति भएको छ । उहाँहरूको स्वास्थ्य परीक्षण भएको छ, खानपिनको व्यवस्थापन पनि भएको छ । खासमा मान्छेहरूको ‘मोबिलिटी’ नहोस् भनेर लकडाउन गरिएको हो । र, नेपाल सरकार मात्र होइन, विश्वभरका सरकारको नीति पनि त्यही हो ।

सिडिओसाबले विश्वभरका सरकारको नीतिको प्रसंग ल्याउनुभयो, यहाँलाई स्मरण के गराऔँ भने अहिले पनि काठमाडौंमा अन्तर्राष्ट्रिय जहाजहरू आइरहेका छन् । फ्रान्स र जर्मनीलगायतका देशले आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेर फिर्ता लगिरहेका छन् । बुधबार मात्रै पनि अस्ट्रेलियन सरकारले जहाज चार्टर्ड गरेर आफ्ना नागरिक फिर्ता लग्दै छ । तर, सिमानासम्म हिँडेर आ–आफैं आएका नागरिकलाई प्रवेश निषेध गर्ने नीति प्रशासनले कसरी लियो ?

हो, महाकालीवारि आउन नसकेका नेपालीको मनोविज्ञान हामी बुझ्छौँ । यो संकटको वेलामा पक्कै पनि उहाँहरू आ–आफ्नो परिवार र समाजसँग बस्न चाहनुहुन्छ । आफ्नो देशमा आउन चाहनुहुन्छ । त्यो संवेदनालाई हामीले नबुझेको होइन, तर त्यसले निम्त्याउने परिणामलाई विश्लेषण गर्नुपर्छ । अहिले उहाँहरूको मानवीय संवेदनालाई सम्बोधन गर्ने विषय प्राथमिकतामा पर्छ कि संक्रमण नियन्त्रण गर्ने विषय ? यो हामीले बुझ्नुपर्छ । त्यो हिसाबले विचार गर्नुपर्छ । 

अहिले पारि रोकिएका नेपाली नागरिक घुमघाम र मोजमस्ती गर्न भारत गएका होइनन्, देशमा रोजगारी नपाएको कारणले परिवारको पेट पाल्नका लागि मजदुरी गर्न अर्काको देशमा गएका हुन् । ती विवश नागरिक सिमानामा आएर ‘नेपाल सरकार नेपालीलाई आफ्नो भूमि फिर्ता आउन देऊ’ भनेर तीन दिनसम्म रोइकराई गर्दा हाम्रो सिस्टम र त्यसको जिम्मेवारीमा भएका अधिकारी कसरी सुत्न सक्छन्, कसरी निदाउन सक्छन् ? 

अहिले राष्ट्रियता र नागरिक हकको विषयभन्दा पनि सम्भावित संक्रमणको विषय प्राथमिकतामा छ । उहाँहरूलाई यता ल्याएर पनि क्वारेन्टाइनमै राख्ने हो, उता पनि क्वारेन्टाइनमा राख्ने व्यवस्था भएको छ । स्थिति सामान्य भएपछि उहाँहरू स्वाभाविक रूपमा नेपाल आउनुहुन्छ । 

भारतबाट आएका नेपाली नागरिकलाई सीधै गाउँ पठाउने, टोलटोल घुम्न दिने, जम्मा भएर जुवातास खेल्न दिने, दारु खाएर हल्लिन दिनुपर्छ भनेर माग कसैले पनि गरेको छैन । तर, क्वारेन्टाइनमा राख्ने व्यवस्था किन गर्न सकिएन ?

यहाँ दार्चुला मात्र होइन, बैतडी, जाजरकोट, बाजुरासम्मका मान्छे आउनुभएको छ । उहाँहरूलाई धनगढी, अत्तरिया, नेपालगन्ज हुँदै घरघर पु¥याउने सुविधा अहिले छैन । किनकि देश अहिले लकडाउनमा छ । यो संक्रमण आउँछ भनेर हामीले पहिलेदेखि नै तयारी गरेर बसेको अवस्था पनि होइन । परिआएको समस्यालाई समाधान गरेको हो । त्यसैले उहाँहरूलाई उतैको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको हो ।

तर, त्यही न्यूनतम व्यवस्था गर्न पनि तपाईंहरूलाई तीन दिन लाग्यो जब कि देश दुई महिनादेखि कोरोना नियन्त्रणको पूर्वतयारीमा छ भनेर प्रचार गरिएको छ । अर्को विषय, नेपाली नागरिकलाई क्वारेन्टाइनमै राख्ने हो भने वारि दार्चुलामा किन नराख्ने ? पारि धारचुलामै राख्नुपर्ने किन ?

नागरिक अधिकारको सन्दर्भमा आफ्नो देशमा बस्न पाउनुपर्छ, तर परिस्थितिले सिर्जना गरेको अवस्थाअनुसार नागरिक पनि संयमित हुनुपर्छ । अरूलाई असर नपरोस् भन्ने विषयमा नागरिक सचेत हुनुपर्छ ।

हो, अरूलाई असर नपरोस् भन्नकै लागि क्वारेन्टाइनको अवधारणा आएको हो । दार्चुला सदरमुकाममा तपाईंहरूले कतिजना अट्ने क्वारेन्टाइन बनाउनुभएको छ ?

स्थानीय तहले दुई सय ५० जना क्षमताको क्वारेन्टाइन बनाएको छ । अहिले एक सय ५१ जना बस्नुभएको छ । 

तर, पहाडको जिल्ला सदरमुकाममा त कम्तीमा एक हजार क्षमताको क्वारेन्टाइन बनाउने भनेर नेपाल सरकारले निर्णय गरेको छ नि ? किन तपाईंहरूले दुई सय ५० जनाको मात्र बनाउनुभयो ?

सरकारले त जतिसक्दो राम्रो र धेरै बनाए हुन्थ्यो नि । तर, क्षमता र औकातले प्रभाव पार्छ । फेरि सरकारले एक हजार बनाउँछु भनेर कहाँ प्रतिबद्धता गरेको छ ? आवश्यकताअनुसार र स्रोतसाधनअनुसार बनाउने हो । 

नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेतृत्वको समितिले पहाडका जिल्ला सदरमुकाममा कम्तीमा एक हजार क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । त्यो निर्णय किन कार्यान्वयन भएन ? 

संख्या किटानी गरेर आएको छैन । त्यो मलाई जानकारी छैन । तराईका सदरमुकाममा दुई हजार र पहाडका सदरमुकाममा कम्तीमा एक हजार क्षमताको क्वारेन्टाइन बनाउने भनेर निर्णय भएको छ । होलाहोला, त्यो सर्कुलर आउँदै होला । अहिलेसम्म आएको छैन । 

तर, यो निर्णय भएको १० दिन भयो नि सिडिओसाब ? अहिले देश इमर्जेन्सीमा छ । यस्तो वेलामा पनि सरकारी निकायबीचमा समन्वय गर्न यति समय किन लागिरहेको छ ?

निर्णय भएको होला, तर यो साधनस्रोत प्रयोग गर्ने र यति संख्यामा बनाउने भनेर हामीलाई दार्चुला जिल्लामा आजका मितिसम्म कुनै निर्देशन आएको छैन ।

अर्को कुरा, महाकाली नदीमा पौडेर आएको एउटा नागरिकलाई अन्डरवेयर मात्र लगाएको अवस्थामा तपाईंहरूले पक्राउ गरेर गल्ली–गल्ली हिँडाउनुभएको छ । त्यो तस्बिरले एक विवश नागरिकलाई नांगो देखाउँछ कि हाम्रो सरकार र त्यसको संयन्त्रलाई ?

मान्छेहरू त्यसरी पौडी खेलेर वारि आउँछन् भन्ने हामीले सोचेका थिएनौँ । त्यसैले जुन अवस्थामा आएको थियो, त्यही अवस्थामा समातेर ल्याएको हो । त्योबाहेक विकल्प हामीसँग थिएन । तर, हामीले ध्यान दिनुपर्ने विषय के हो भने त्यो नागरिक त्यसरी जोखिम मोलेर आउनु हुँदैनथ्यो । नागरिकका पनि कर्तव्य हुन्छन् । 

तर, पारिबाट तीन दिनसम्म नारा लगाउँदा आफ्नो सरकारले नसुनेपछि कुनै नागरिकले त्यस्तो कदम उठाउँछ भने त्यो विवशतालाई अपराध कसरी भन्ने ?

कोही हामफालेर नांगै वारि आउँछन् भनेर पूर्वसतर्कता अपनाएका थिएनौँ । तपाईंले अहिले विश्लेषण गरेजस्तो तयारी हामीले गरेका थिएनौँ । 

उनीहरूले घाँटी सुक्ने गरी उठाएको आवाजले धर्ती गुन्जियो, तर त्यही खोलावारि तपाईंहरूले, देशको गृह मन्त्रालयले र सिंगो सरकारले किन सुनेन भन्ने हो?

तपाईंले यो कुरा किन दोहोर्‍याइरहनुभएको छ ? हामीले किन ल्याउन सकेनौँ जस्तो लाग्छ तपाईंलाई ? 

किन ल्याउन सक्नुभएन भने तपाईंहरूले पर्याप्त मात्रामा क्वारेन्टाइन बनाउनुभएन । खोलापारि सात सय मान्छे छन्, तर तपाईंले दुई सय ५० क्षमताको मात्र क्वारेन्टाइन बनाउनुभएको छ । सरकारको निर्णयअनुसार हजारजना क्षमताको क्वारेन्टाइन बनाउनुभएको भए उनीहरूलाई खोलावारि ल्याउन सक्नुहुन्थ्यो र सहजै व्यवस्थापन गर्न सक्नुहुन्थ्यो । तर, तपाईंहरूले अपूरो तयारी गरेका कारणले नेपाली नागरिक सीमापारि अपहेलित हुनुपरेको छ । 

तपाईंलाई लागेको विषय ठीक छ । पत्रकारको रूपमा तपाईंले विश्लेषण गर्न पाउनुहुन्छ । तर, हरेक देशको साधनस्रोतको आफ्नो हैसियत हुन्छ । उपलब्ध भएको स्रोतसाधनअनुसार काम गर्ने हो । राज्य समृद्ध नहुनु त तपाईं–हामी सबैको दुर्भाग्य हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्