अस्पतालमा विरामीका कुरुवा लुटिए 



धरान :  सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षा गार्डको लापरवाहीका कारण विरामीका कुरुवा लुटिएका छन् ।

प्रतिष्ठानको मेडिसिन युनिट १ वार्डमा विहिबार बिहान तीन जना बिमारीका आफन्त लुटिएका हुन् । उनीहरुको चार वटा मोबाइल, एक वटा चाँदीको औंठी एउटा बाला र नगद पाँचहजार रुपैयाँ लुटिएको विर्तामोड घर भएका बिमारीका आफन्त अमृतेश ठाकुरले जानकारी दिए । 

ठाकुरले श्रीमती सम्झना ठाकुरको पित्तथैलीको शल्यक्रिया गरी युनिट १ सर्जरी वार्डमा राखेका थिए । राति चार्ज गरिरहेको बेला उनको मोबाइल हराएको थियो । यस्तै धरानका सनम राईको दुई वटा मोबाइल, ताप्लेजुङकी सीता इजमको दुई वटा औंठी, चुरा, झोला र साढे तीन हजार रुपैयाँ नगद लुटिएको थियो । 

मोबाइल, पैसा र गहना लुटपाट भएपछि कुरुवाकै सक्रियतामा लुटेराको खोजी गरी प्रहरीलाई बुझाइएको छ । धनकुटा छिन्ताङ घर भएका राम थापालाई नियन्त्रणमा लिइएको हो । कुरुवाले नियन्त्रणमा लिएका थापालाई इलाका प्रहरी कार्यालय धरानमा बिहान बुझाइएको हो । उनका विषयमा अनुसन्धान भइरहेको इप्रकाका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । प्रतिष्ठानमा केटिएम सेक्युरिटी प्रालिका सुरक्षा गार्ड छन् । 

 

प्रतिक्रिया दिनुहोस्