प्रदेश २ : २ हजार ४६ बेड क्षमताको ९९ वटा क्वारेन्टाइनमा ५ सय ४ जना, १७ आइसोलेशनमा



जनकपुरधाम– विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसका १७ जना शंकास्पद व्यक्तिलाई प्रदेश २ का विभिन्न आइसोलेशन वार्डहरूमा राखिएको छ ।

उनीहरू मध्ये ८ जनाको थ्रोट स्वाब परिक्षणका लागि काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट निगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।
प्रदेशमा कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेकाहरूको संख्या समेत बढ्दै गइरहेको छ ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा अहिलेसम्म ५ सय ४ जना शंकास्पद व्यक्तिलाई प्रदेशका बिभिन्न जिल्लामा रहेका ९९ वटा क्वारेन्टाइनमा राखिएको बरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका ५ सय ४ जना शंकास्पदलाई प्रदेश २ को विभिन्न जिल्लास्थित क्वारेन्टाइनमा राखिएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा ५ सय ५६ बेड संख्याको १६ वटा क्वारेन्टाइन बनाइएको छ । जहाँ १ सय ५३ जनालाई क्वारेन्टाइनमा र ४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ४ बेड क्षमताको आईसोलेशन वार्ड निर्माण गरिएकोमा १ जनालाई त्यहाँ राखिएको छ ।

त्यस्तै बारामा ३ सय ११ बेड क्षमताको १० वटा क्वारेन्टाइनमा अहिलेसम्म १६ जनालाई राखिएको छ । बारा जिल्लास्थित कलैया अस्पतालमा निर्माण गरिएको १५ वटा आईसोलेशन बेडमा अहिले ८ जना कोरोनाका शंकास्पद बिरामीलाई राखिएको झाले जानकारी दिए ।

पर्सामा ६६ बेड क्षमताको ८ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ २३ जना क्वारेन्टाइनमा र २ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा बनाइएको ५ बेडको आईसोलेशन वार्डमा अहिले ३ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

सप्तरीमा ४ सय ५१ बेड क्षमताको २७ वटा क्वारेन्टाइनमा अहिले १ सय ५८ जनालाई निगरानीमा राखिएको छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको ५ वटा आईसोलेशन वार्डमा अहिलेसम्म कुनै शंकास्पद बिरामी नआएको उनले बताए ।

सिरहामा १ सय ३८ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ६० जना र होम क्वारेन्टाइनमा ६ जना रहेका छन् । त्यस जिल्लामा १८ बेडको आईसोलेशन निर्माण गरिएकोमा त्यहाँ अहिलेसम्म कुनैपनि शंकास्पद बिरामीलाई राखिएको छैन् ।

धनुषामा १ सय ६३ बेड क्षमताको १० वटा क्वारेन्टाइना अहिले ३५ जनालाई भर्ना गरिएको झाले जानकारी दिए । यस जिल्लामा अहिले १८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । धनुषामा १२ वटा आईसोलेशन रहेकोमा ५ जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखिएको छ ।

त्यस्तै महोत्तरीमा १ सय ५० बेड क्षमताको ७ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिलेसम्म ८६ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा कसैलाई राखिएको छैन् । महोत्तरीमा ८ वटा आईसोलेशन वार्ड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनैपनि शंकास्पद बिरामी नआएको उनले बताए ।

सर्लाही जिल्लामा २ सय ३६ बेड क्षमताको ७ वटा क्वारेन्टाइनमा अहिले ५९ जना रहेका छन् भने ३५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । दुईवटा आईसोलेशन वार्ड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनैपनि शंकास्पद बिरामी नआएको झाले जानकारी दिए । प्रादेशिक अस्पताल जनकपुरबाट थप ४ जना कोरोना शंकास्पद बिरामीको थ्रोट स्वाब परिक्षणका लागि काठमाण्डौ पठाइएको र उनीहरूको रिपोर्ट दुई दिनपश्चात आउने झाले बताए ।

प्रदेश २ मा अहिले ५ सय ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने १ सय ५१ जना होम क्वारेन्टाइनमा छन् । प्रदेशभित्र २ हजार ४६ बेडको ९९ वटा क्वारेन्टाइन र ६९ वटा आईसोलेशन वार्डहरु निर्माण गरिएको छ ।

क्वारेन्टाइनमा शंकास्पदहरु भर्ना गरिएपनि प्रदेश २ मा हालसम्म परीक्षणको लागि आवश्यक किटको अझै अभाव रहेको निर्देशनालयले जनाएको छ ।

कोरोनाको पोजेटिभ निगेटिभ केश छुट्याउने रियलटाईम पिसिआर मेशिन जनकपुरधाममै ल्याउने तयारी भईरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । उनले कोरोना संक्रमितहरुको रिजल्ट पत्ता लगाउन कठिनाई भईरहेको अबस्थामा प्रदेश सरकारसँग समन्वय गरि सो मेशिन एक दुई दिनभित्रै जनकपुर ल्याइने बताए ।

प्रदेश २ मा यदि कुनै पोजेटिभ केश आयो भने त्यसका लागि प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको छुट्टै आईसोलेशन वार्ड समेत स्वास्थ्यकर्मी सहित तयारी अबस्थामा रहेको झाको भनाई छ ।
त्यस्तै प्रादेशिक अस्पताल जनकपुर,नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा कोरोना सम्बन्धि जाँच गर्ने ल्याबको स्थापना गरि नमूना परिक्षण गर्न स्वास्थ्यकर्मीको टिम समेत खटाईसकिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्