काठमाडौं : प्रदेश १ का सुविधासम्पन्न अस्पतालले ज्वरो आएको महिलाको उपचार नगर्दा उनको हिजो (मंगबार) मृत्यु भएको छ ।
पहाडी जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको उपचार नपाएर मृत्यु भएको हो ।
धनकुटाबाट उपचारका लागि विराटनगर ल्याइएको थियो । तर, विराटनगरको सुविधानसम्पन्न भनेर आफूहरुलाई चिनाउने ठूला निजी अस्पतालहरुले नरदेवीको उपचार नगर्दा उनको अकालमै ज्यान गुमाउन पुगेकी छन् ।
विराटनगरका न्यूरो, विराट नर्सिङ होम समेतका ठूला अस्पतालले ज्वरो आएका बिरामी लिन अस्वीकार गर्दै आएको छ ।
उनी वडाअध्यक्ष शिवकुमार लिम्बू तुम्बाकी कान्छी बहिनी हुन् ।
नरदेवी बगैंचाको फूलमा पानी लगाउने क्रममा बेहोस भएकी उनकी छोरी लक्ष्मी गुरुङ (राई)ले बताइन् । बिहान करिब साढे ६ बजेतिर बेहोस भएकी नरदेवीलाई स्थानीय क्लिनिकमा उपचारका लागि लगिएको थियो ।
क्लिनिकमा उपचारमा क्रममा उच्च रक्तचापका कारण समस्या भएको र क्लिनिकमा थप उपचार सम्भव नभएको भन्दै रिफर गर्यो ।
त्यसपछि परिवारका सदस्यले एम्बुलेन्समा राखेर करिब १० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइर्पुयाए ।
त्यहाँ चेकजाँचका क्रममा ज्वरो १०२ डिग्री देखियो ।
त्यसपछि धरानमा उपचार शुरु गरेपछि चिकित्सकले आईसीयू खाली नभएको र बिरामीलाई तत्काल आईसीयूमा राख्नु पर्ने भन्दै विराटनगरको न्युरो अस्पताल रेफर गर्यो । वीपीले बनाइदिएको सिफारिससहित बिरामी पुर्याएपछि लगभग १२ बजेबाट न्युरोमा औषधि किन्न लगाउँदै नर्सहरुले उपचार शुरु गरेर डाक्टरलाई बोलाए । तर, पछि डाक्टर आएर भेन्टिलेटर खाली नभएको र धेरै ज्वरो आएको बिरामी उपचार गर्न नसकिने भन्दै अस्पतालबाट निकालिदिएको छोरी लक्ष्मीले बताइन् ।
तर, केही दिनयता न्युरोको भेन्टिलेटर खाली नै रहेको पाइएको छ ।
त्यहाँबाट निकालिएपछि करिब १ बजे बिरामीलाई विराट नर्सिङ होम विराटनगर पुर्याइयो ।
तर, त्यहाँ पनि नर्स र चिकित्सकले उपचार गर्न मानेन् ।
विराट नर्सिङ होमका कर्मचारी र चिकित्सकले अरु अस्पतालले उपचार गर्न नमानेको बिरामीलाई हामीले किन उपचार गर्ने भन्दै तुच्छ व्यवहार गरेको लक्ष्मीले बताइन् ।
विराट नर्सिङ होममा पनि उपचार नभएपछि उनलाई त्यहाँबाट फेरी नोबेल शिक्षण अस्पताल पुर्याइयो । त्यहाँ परिवारका सदस्य र आफन्तले धेरै बिन्ति गरेपछि अस्पताले उपचार शुरु गर्यो ।
उपचारकै क्रममा दिउँसो ३ः३० बजेतिर नोबेल शिक्षण अस्पतालमा नरदेवीको मृत्यु भयो ।
उपचारमा संलग्न चिकित्सकले बिरामी ल्याउन ढिला भएकाले बचाउन नसकिएको बताएको लक्ष्मीको भनाइ छ ।
अहिले विश्व एउटा अदृश्य रोगसँग जुध्दै छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वनै जुध्दै नेपाल पनि यसबाट अछुतो भने रहन सकेको छैन ।
नेपालमा पनि ५ जनामा कोरोना संक्रमण फेला परिसकेको छ भने एक जना निको भएका छन् ।
नेपालका निजी अस्पतालहरुले ज्वरो आएका बिरामी कोरोना संक्रमित हुने भन्दै उचार गर्न नगर्दा आज एक महिलाले अकालमै ज्यान गुमाएकी छन् ।
यता हिजो(मंगलबार) सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार व्यवस्गा मिलाउन आदेश दिएको थियो । सर्वोच्चले आदेश जारी गरेकै दिन एक कोरोना संक्रमित नभएकी महिलाले उपचार नपाएर ज्यान गुमाउनु परेको छ ।