बंगलादेशको लकडाउनमा फसेका डा.साहको प्रश्न, हाम्रो सरकार कहाँ छ ?



डाक्टर राजु साह
निवर्तमान अध्यक्ष : नेप्लिज स्टुडेन्टस एसोसिएसन, बंगलादेश

जनकपुरधाम : कोरोनाभाइरस (केभिड–१९) प्यान्ड्यामिक अर्थात दुनियाँभर फैलिएको महामारी हो । हामी विश्वभर फैलिएको अहिलेको विषम परिस्थितीलाई विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालबाट एकदमै नजिकबाट नियालेर हेरिरहेका छौँ ।

नेप्लिज स्टुडेन्टस एसोसिएसन, बंगलादेशका निवर्तमान अध्यक्ष डा.राजु साह भन्छन्–‘यदि तपाईंको नजरमा कुनै ज्वरो, खोकी वा अन्य शंकास्पद बिरामी देखियो भने तपाईं तिनीहरूलाई नछुनुहोस् र उनीहरुको नजीक नजानुहोस् । तिनीहरूको जिवन रक्षा गर्न एउटा कोठामा उसलाई एक्लै राख्नुहोस । डाक्टरलाई सम्पर्क गर्नुहोस् र उपचारको लागि जानुहोस् । हामी हाम्रो घरमा आफ्ना आमाबुवा र वृद्धवृद्धाको ज्यान जोगाउन सक्छौं ।

तपाईंले अनुहार छुनु अघि साबुनले हात धुनुपर्छ । तपाईँले मास्क लगाउनु पर्छ र कपालमा समेत सुरक्षा सामग्री लगाउनु आवश्यक छ ।

बंगलादेशमा रहेका नेपाली राजदुतावासको तथ्यांकले अहिलेसम्म ७ सय को हाराहारीमा चिकित्साशास्त्र र अन्य विधाका विद्यार्थीहरू बङ्गलादेशमा अध्ययनरत छन् । तर केहि सुत्रको अनुसार अहिले बंगलादेशको विभिन्न प्रान्तमा ५ सयको हाराहारीमा अब मात्र नेपाली बिद्यार्थीहरु रहेका छन् ।

तर अझैपनि सरकारले विदेशमा फसेका आफ्ना नागरिकलाइ स्वदेश फर्काउने तत्काल कुनै योजना नरहेको भन्नु कतिसम्म न्यायसंगत् कुरा हो ? प्राय जसो राष्ट्रले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइसकेको र फर्काउँदै गरेको अवस्थामा नेपाल सरकारको तयारी एवं व्यवस्थापन चित्त बुझ्दो देखिएन । विगत १२ दिनदेखि हामि कलेज होस्टेलमै सेल्फ क्वारेन्टाएनमा बसिरहेका छौँ । सबै कलेजका होस्टेलहरुमा प्रायः नेपाली विद्यार्थीहरुमात्र बाँकी रहेका छन् ।

बंगलादेशमा विभिन्न मुलुकका विद्यार्थीहरु अध्ययनका लागि आएका थिए । उनीहरुलाई सम्बन्धित देशहरुले उद्धार गरिरहेको छ । तर, हाम्रो बारेमा सरकारले कुनैपनि कुरा बोलेको छैन । तर, हामी हेल्थ सेक्टरका विद्यार्थी भएका नाताले हाम्रै देशमा फर्किएर देशलाई सहयोग गर्न चाहन्छौं ।’

‘यता परिवार र उता छोराछोरी आत्तिएका छन् । सरकारले केही पहल गरिदिएमा उनीहरु अभिभावकविहिन जस्तो अवस्थामा त्यहाँ बस्न बाध्य हुने थिएनन्’ डा. राजु साहले भने ।
डा.साहले सरकारलाई बंगलादेशमा चिकित्साशिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले भूकम्पका बेलामा पनि ठूलो सहयोग गरेको अवगत समेत गराए ।

डा.साहले लकडाउन लम्ब्याउनुपर्ने स्थितिले विभिन्न ठाउँमा फस्न पुगेका नेपाली समस्यामा परेकाले उनीहरुलाई बैकल्पिक व्यवस्था गरेर समस्या समाधान गर्न पनि भनेका छन् ।

नेपालमा पीपीई लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अझै धेरै ठाउँमा नपुगेको भन्दै उनले सबै क्षेत्रमा पर्याप्त सामग्री पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले यो भाइरसलाई परास्त गर्न सकिने उल्लेख गर्दै भनेका छन्, ‘अतः नेपालभरीका स्वास्थकर्मीहरुप्रति हामी सबै नेपालीको गहिरो भावनात्मक स्नेहको साथ रहेकोे स्मरण गराउँदछु ।’

उच्च जनघनत्व भएका कारण बंगलादेश कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई अवगत नै छ । परीक्षण गर्नका लागि चाहिने मेडिकल इक्विपमेन्ट टेस्टिङ्ग किट पर्याप्त मात्रामा नभएको कारण बंगलादेश सरकारले सार्वजनिक गरेको कोरोनाभाइरसको संक्रमित संख्याको तथ्यांकलाई सटिक मान्न सकिन्न । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि बंगलादेश सरकारलाई यसबारे सचेत गराउँदै आएको छ । यस्तो अवस्थामा विद्यार्थीहरुले भोग्नु परेको मानसिक एवं पारिवारिक तनावको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।’

प्रतिक्रिया दिनुहोस्