लकडाउनमा इँटा उद्योग सञ्चालित



इनरुवा : सुनसरीको दुहबी नगरपालिका ९ मा रहेको जयबाबा इँटा उद्योग र गढी गाउँपालिका १ मा रहेको आनन्द इंँटा उद्योगले लकडाउन उल्लङ्घन गरेको छ । कोरोना भाइरसको त्रासका कारण लकडाउन गरिएको भएपनि दुहबी ९ र गढी १ मा रहेको इँटा उद्योगले हजार भारतीय मजदूर राखेर काम गराइरहेको छ ।

इँटाभट्टमा भारतीय मजदूरले निर्बाध काम गरिरहेको र गाउँघरमा समेत पस्ने गरेका कारण आफूहरुलाई समस्या भएको स्थानीयवासी मोहमद ताविज हुसेनले बताए । उद्योगमा काम गर्नेमा भारत पश्चिम बंगालका मजदूर रहेको र उनीहरुले किनमेल गर्ने बहानामा गाउँ घुम्ने गरेका कारण आफूहरुमा कोरोना भाइरसको त्रास उत्पन्न भएको हुसेनले गुनासो गरे ।

दुहबी ९ का वडाध्यक्ष मेहदी हुुसेनले इँटा उद्योग सञ्चालनका विषयमा आफूलाई जानकारी नभएको बताउँदै यदि त्यस्तो पाइएमा उद्योगलाई नेपाल सरकारले लागु गरेको नियमानुसार कारवाही गरिने बताए ।

छ जना क्वारेन्टाइनमा

भारतबाट आएका ६ जनालाई सुनसरीमा रहेका क्वारेन्टाइनमा बुधबार राखिएको छ । सुनसरीको भोक्राहा नरसिंंह गाउँपालिका ६ मा रहेको क्वारेन्टाइनमा भारतको दिल्लीबाट आएका चार जनालाई राखिएको भोक्रहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आलम अंसारीले बताए ।

त्यसैगरी हरिनगर गाउँपालिकामा रहेको क्वारेन्टाइनमा दुई जनालाई राखिएको छ । भारतको पञ्जाबबाट आएका तिनलाई सीमाबाट बुधबार नियन्त्रणमा लिएर हरिनगर १ स्थित बिजी अस्पतालमा रहेको क्वारेन्टाइनमा राखिएको हरिनगर स्वास्थ्य शाखाका प्रमुख प्रकाश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्