लकडाउनले गाउँ फर्केका युवकयुवती मेलापातमा



स्याङ्जा : कालीगण्डकी गाउँपालिका–६ का निशा न्यौपानेको दैनिकी यतिबेला फेरिएको छ । बुटवल वाणिज्य क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत न्यौपाने गाउँ फर्किएपछि घरपरिवारमा व्यस्त भएका छन । बुटवल डेरामा बस्दा कलेज समयमा कलेज जाने आउने र त्यसपछि डेरामै अध्ययन गरेर बस्ने गरेकी निशा गाउँ आएपछि घरपरिवारसँगै मेलापात गरेर बित्ने गरेको छ ।

हुन पनि यतिबेला गाउँघरमा मल बोक्ने खेतीपाती लगाउने र पाकिसकेको खेती भित्र्याउने चटारोमा छन् । किसान यही चटारोको मेसोमा गाउँ आएकी निशाले घरपरिवारसँगै खेतबारीमा काम गरेर परिवारलाई सहयोग गर्ने गरेको बताए । अरुबेला गाउँ आउँदा छरछिमेकीसँग भेटघाटका लागि गाउँ डुल्ने गरेकी उहाँ यतिबेला भने परिवारमै सीमित रहेको बताउछन । निशा भन्छन, “अरु बेला घरमा आउँदा साथीहरुसँग घुम्ने गाउँ डुल्ने र आफन्तहरुसँग भेटघाट गर्ने गरिन्थ्यो यसपालि कोरोना भाइरको सङ्क्रमणको त्रासले घरमै बस्ने र घरपरिवारसँगै घरको काम गरेर दिन बिताउने गरेकी छु ।”

निशा मात्रै होइन, कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि लकडाउन लागू भएपछि गाउँ फर्किएका धेरै युवायुवती यतिबेला यो समयलाई आफूले जानेको काम गरेर सदुपयोग गरिरहेका छन् । उनीहरुको दैनिकी यतिबेला घरपरिवारलाई सहयोग गर्नाका साथै आफूले जानेका घरेलु सीपको प्रयोग गरेर बितिरहेको छ ।

वालिङ बजारमा मोबाइल पसल गर्दै आएका मोबाइल सेन्टरका केशव पराजुली यतिबेला वालिङ नगरपालिका १२ चौतारस्थित आफ्नै घरमा घाँस काट्नका लागि प्रयोग गरिने डोको, मल बोक्न प्रयोग हुने थुन्से बुन्न व्यस्त देखिन्छन । बिहान उठेदेखि साँझसम्म उनको दैनिकी बाँसघारीमा गएर बाँस काटेर घरमा ल्याउने डोको र थुन्सेका लागि आवश्यक चोया तयार पारेपछि बुन्ने काम गरेरै बित्ने गरेको छ ।

पेशाले मोबाइल व्यापारी रहेका पराजुली फुर्सदको समयमा यत्तिकै बस्नुभन्दा आफूले जानेको सीप प्रयोग गर्दा समय बिताउन पनि सजिलो हुने र गाउँघरमा काम लाग्ने भएकाले व्यापार व्यावसाय बन्द भएपछि गाउँमा आएर डोका, थुन्से सुपोलगायतका बाँसबाट बनाउन सकिने सामग्री बनाएको बताए । पराजुलीले भने, “आफूले जानेको काम गर्न लाज मान्नु पर्दैन गाउँघरमा हराउँदै गएको यो पेशालाई जोगाउन पनि मैले यो काम गरेको हुँ लकडाउन भरको अवधि डोका, थुन्से बुनेर खाली समया बिताउने योजना बनाएको छु ।”

मिर्मी बहुमुखी क्यापम्समा बीबीएस चौथो वर्षमा अध्ययनरत विन्दू भट्टराई पनि विश्वमा कोरोना सङ्क्रमणको महामारी फैलिएपछि सरकारको लकडाउनको घोषणासँगै कलेज बन्द भएपछि घरपरिवारसँगै घेतबारीमा काम गरेर बिदाको समयको सदुपयोग गरेको बताउछन । भट्टराईले भने, “अहिले गाउँघरमा खेती लगाउने समय भएकाले यही काममा ब्यस्त रहेकी छु ।”

परिवारसँगै काम गर्दा रमाइलो पनि हुने घरको काममा सहयोग पनि पुग्ने भएकाले परिवारसँगै काम गर्ने गरेको उनी बताउछन । छरछिमेमा भीडभाड गरेर गफ लगाएर बस्नुभन्दा सुरक्षित भएर आफूले सकेको काम गरेर यो समयको सदुपयोग गर्न सुझाउने गरेको विन्दु बताउछन ।

पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्री लकडाउनको समयमा गाउँघरमा आएका युवायुवतीले गाउँघरमा आफूले जानेको सीपलाई प्रयोग गर्ने अवसरको रुपमा प्रयोग गरिरहेको देख्दा खुशी लागेको बताए । नगरप्रमुख क्षेत्रीले भने। “सङ्क्रमणको त्राससँगै सरकारले लकडाउनको घोषणा गरेपछि गाउँघरमा आएका युवायुवती शुरुशुरुमा अन्योलमा परे पनि अहिले कोही डोका बुन्ने खेतबारीमा काम गर्नुका साथै तरकारी लगाउन थालेका छन् यसले युवा जमातमा एक खालको सकरात्मक वातावरण पनि निर्माण गरेको पाएको छु ।”

पुतलीबजार नगरपालिका–३ का अनन्तकुमार श्रेष्ठले लकडाउनका कारण विद्यार्थी लामो समय घरमै बस्नु परे पनि यो समयमा घरपरिवारले आफ्नो पारिवारिक अवस्थाका साथै परम्परा र संस्कृतिका बारेमा सिकाएर समयको सदुपयोग गर्न सकिने बताउछन । श्रेष्ठले भने, “मैले यो समयमा छोराछोरीलाई कविता रचना गर्न लगाउने चित्र बनाउन लगाउने गरेको छु, यसमै उनीहरु अहिले रमाउने गरेका छन् ।”

यो लकडाउनको समयमा अभिभावकले आफ्ना छोराछोरीलाई आफूसँगै राखेर पारिवारिक लगायतका अन्य रचनात्मक काममा समेत लगाउन सकिने आफूले अनुभव गरेको श्रेष्ठको श्रेष्ठ बताउछन । यसैगरी सबैले आफ्नो क्षमता र अनुभवका आधारमा घरपरिवार भित्रै रहेर गर्न सकिने काम गरेमा लकडाउनको पालनासँगै समयको सदुपयोगसमेत गर्न सकिन्छ ।

कार्कीडाँडा गाउँ नै क्वारेन्टाइनमा

बिरुवा गाउँपालिका–१ स्थित कार्कीडाँडागाउँलाई नै क्वारेन्टाइनमा परेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरे बिदेशबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने घोषणाा गरेसँंगै सिङ्गो कार्कीडाँडागाउँ क्वारेन्टाइनमा परेको हो ।

कार्कीडाडाँगाउँका दुई युवा चैत ६ गते ओमनबाट काठमाडौँ उनीहरु ९ गते गाउँमा आएका थिए । गाउँमा आएपछि पूरै गाउँ डुल्नुका साथै चैत १५ गते पोखरास्थित मनिपालमा शिक्षण अस्पतालमा एक छिमेकीको मृत्यु भएको र ती युवा पनि गाउँलेसँगै मलामी गएपछि सङ्क्रमणको त्रासले सिङ्गो गाउँलाई नै होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले बताए ।

शर्माले भने, “विदेशबाट आएका दुई युवामा त्यस्तो कुनै पनि लक्षण अहिलेसम्म त देखिएको छैन तर सावधानी अपनाउनुभयो भनेर गाउँलाई नै क्वारेन्टाइनमा राखेका छौँ ।”

कार्कीडाडाँमा रहेका २८ घरधुरीका १४३ लाई होम क्वारेन्टाइनमा राखिएको र नियमित स्वास्थ्य परीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्