केही दिनमा कोरोना संक्रमितको संख्या १० लाख पुग्ने, मृत्यु हुनेको संख्या दोब्बर हुने : डब्लूएचओ



काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १–२ दिनमा विश्वमा कोरोनाभाइरसको संक्रमितको संख्या १० लाख पुग्ने बताएको छ । साथै कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरू उच्च गतिमा बढेका कारण दोबरभन्दा बढी पुग्ने बताएको छ ।

डब्लूएचओका प्रमुखले कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै विश्वभरि कुल जनसंख्याको आधा मानिस कुनै किसिमको नियमनको अवस्थामा रहेको बताइएका छन् ।
डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

अहिले कोरोनाबाट विश्वको २ सय ३ देश प्रभावित भएको छ । यसबाट विश्वमा ९ लाख ३६ हजार ६ सय ७० जना संक्रमित भएका छन् भने ४७ हजार २ सय ५९ जनाले ज्यान गुमाइ सकेका छन् । त्यस्तै १ लाख ९४ हजार ५ सय ९९ जना निको भएका छन् ।

टेड्रस एड्हानोम गेहब्रेयससले भने, ‘आउँदा केही दिनमा संक्रमण पुष्टि हुनेको संख्या विश्वमा दश लाख र मृत्यु हुनेको ५० हजार पुग्नेछ । यो विश्वको सबैजसो देश वा क्षेत्रमा पुगेको छ ।’

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन् ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई डब्लूएचओले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

यद्यपि पछिल्लो समय अमेरिका, इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति पैदा भएको छ । कोरोनाभाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभाव परेका १० मुलुकहरुको पछिल्लो परिदृश्य यस्तो रहेको छ ।

इटालीमा १ लाख १० हजार ५ सय ७४ कुल सङ्क्रमित भएका छन् भने, १३ हजार १ सय ५५ को मृत्यु भएको छ । यसैबीच १६ हजार ८ सय ४७ निको भएर घर फर्किएका छन् । स्पेनमा १ लाख ४ हजार १ सय १८ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ३ सय ८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६ सय ४७ निको भएर घर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा २ लाख १५ हजार ३ सय ४४ कुल सङ्क्रमित भएका छन् भने ५ हजार १ सय १२ को मृत्यु भएको छ । यसैबीच ८ हजार ८ सय ७८ निको भएर फर्किएका छन् ।

फ्रान्समा ५६ हजार ९ सय ८९ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ३२ को मृत्यु भएको छ । १० हजार ९ सय ३५ निको भएर घर फर्किएका छन् ।

चीनमा ८१ हजार ५ सय ५४ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३ सय १२ को मृत्यु भएको छ । ७६ हजार २ सय ३८ निको भएर घर फर्किएका छन् ।

इरानमा ४७ हजार ५ सय ९३ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३६ को मृत्यु भएको छ । १५ हजार ४ सय ७३ निको भएर फर्किएका छन् ।

बेलायतमा २९ हजार ४ सय ७४ कुल सङ्क्रमित भएका छन् भने २ हजार ३ सय ५२ को मृत्यु भएको छ । १ सय ३५ निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्