दसैंलार्इ लक्ष्य गरी जनकपुरमा सस्तो बजार सुरु



जनकपुरधाम : प्रत्येक वर्षझैं यस वर्ष पनि जनकपुरमा सस्तो बजार सुभारम्भ भएको छ । आम उपभोक्तालाई लक्ष्य गरी सहज र सस्तो दरमा विभिन्न सामग्री उपलब्ध गराउने उद्देश्यले सस्तो बजार सुरु गरिएको हो ।

 

बजारकाे राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महताेले उद्घाटन गरेका थिए । यस्तो खाले बजार जनकपुरमा ४१ वर्ष अघिदेखि सुरु भएकाे बताइन्छ । 

 

जनकपुरधामको रामचोकस्थित गोपाल धर्मशालामा दशैंको अवसरमा लाग्ने सस्तो बजारको सर्वसाधारणमा व्यग्र प्रतीक्षा रहन्छ । 

 

बाहिरभन्दा सस्तो मूल्यमा दैनिक उपभोग्य सामग्री पाइने भएकोले ठूलो संख्यामा उपभोक्ता यहाँ आउने गरेका उद्योग वाणिज्य संघका धनुषा जिल्ला सचिव विकास केनोजिया बताउँछन् । 

 

सस्तो बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु राखिएको छ । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा दशैं बजारका सदस्य सचिव ललितकुमार साहले सर्वसाधारणको माग ध्यानमा राखी हरेक वर्षझैं यस पटक पनि सस्तो बजार लगाइएको जानकारी दिए । 

बजारमा करिब एक सय स्टल निर्माण गरिएको छ । धर्मशालाभित्र ३४ र बाहिर ५५ वटा स्टल छन् । 

सस्तो बजार असोज ३१ गतेसम्म सञ्चालन हुने छ । स्टलभित्रमा बजार राख्ने व्यापारीसँग प्रतिस्टल १५ र बाहिर राखिएको बजारमा प्रतिस्टल नौ हजार शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्