बर्दगोरियामा २० लाख बराबरको राहत तथा उद्धार कोष स्थापना



सुखड : कैलालीको बर्दगोरिया गाँउपालिकामा राहत तथा उद्धार कोष स्थापना गरिएको छ ।

कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका अति बिपन्न मजदुरहरुको उद्धार तथा सहयोगको लागि राहत कोषको स्थापना गरिएको गाँउपालिकाका प्रबक्ता रामकृष्ण डगौरा थारुले जानकारी दिएका छन् ।

बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार उक्त कोषमा गाउँ सरकारले १५ लाख, पालिकामा कार्यरत कर्मचारीहरुको ५ दिन बराबरको तलव र बिगतमा जनप्रतिनिधीहरुले पाउदै आएको सेवा सुबिधाको १५ दिनको रकम जम्मा गर्ने गरि करिव २० लाख बराबरको राहत तथा उद्धार कोष स्थापना भएको हो ।

बैठकले कोषको रकम वृद्धी गर्न अन्य सरोकारवाला निकाय, संघ संस्था तथा ब्यापारीलाई सहयोगको अपिल गर्ने, लकडाउन अवधिभर हरेक वडा कार्यालयले सुरक्षाकर्मीलाई १-१ थान मोटरसाईल र एक हजार बराबरको ईन्धन उपलब्ध गराउने, आवश्यक परे बसन्त मुरारी माध्यामिक विद्यालयमा क्वारेन्टाईन निर्माण गर्ने तथा निजी क्लिनिक र फार्मेसीहरु संचालन गराउने लगायतका निर्णयहरु गरेको छ ।

यस्तै बैठकले गाउँ सरकार प्रमुख बलिराम डगौरा थारुको संयोजकत्वमा ११ सदस्यीय कोरोना नियन्त्रण तथा राहत ब्यवस्थापन समिती समेत निर्माण गरेको छ । समितीले कोरोना नियन्त्रण तथा लकडाउनका कारण भोकमरीमा पर्न सक्ने मदजुरहरुको तथ्यांक संकलन र राहत बितरण गर्ने बताएको छ ।

हाल हरेक वडामा भारत तथा अन्य मुलुकबाट आएका मानिसहरुसँगै भोकमरीमा पर्न सक्ने मजदुरहरुको तथ्यांक संकलन गर्ने काम भईरहेको गाँउपालिकाका कार्यकारी अधिकृत अर्नुन सिंह कार्कीले बताए ।

१-२ दिनमा तथ्यांक संकलन गरी राहत बितरण गर्ने उनको भनाई छ । गाँउपालिकाले हाल १५ जनालाई क्वरेन्टाईनमा राखेको छ भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्