संक्रमित दुई किशोरीसँगै नेपाल आएका ढोरपाटनका युवामा कोरोना संक्रमण नभएको पुष्टि



बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका वडा नम्बर–५ अधिकारी चौरका युवामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हँदै नेपाल आएकी काठमाडौं र बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया युवतीसँगै आएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार होम क्वारेन्टाइनमै रहेका ढोरपाटनका युवामा कोरोना भाइरस संक्रमणको आशंकामा सोमबार नमुना स्वाब संकलन गरेर काठमाडौं पठाइएको थियो । आज (बिहीबार) आएको रिपोर्टमा युवकलाई कोरोना संक्रमण नभएको पुष्टि भएको प्रमुख गुरौले जनाएका छन् ।

कतार एयरवेजको विमानमा सवार काठमाडौंकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि विमानमा सवार यात्रुको खोजी गर्ने क्रममा बागलुङका चारजना सवार रहेको पाइएको थियो ।

जसमा बानपा ४ कुडुलेकी युवतीमा संक्रमण पुष्टि भएको छ भने नमूना परीक्षणमा पठाएका अन्य दुईजनाको रिपोर्ट नेगेटिभ आएको छ । ६५ वर्षीया एक महिलामा भने कुनै लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्