सीमामा अलपत्र नेपालीलाई नेपाल प्रवेश गर्न नदिएकोमा श्रेष्ठको आपत्ति



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सीमा नाकामा आइसकेका नेपालीलाई नेपाल प्रवेश गर्न नदिएकोमा आपत्ति जनाएका छन् ।

सरकारले लकडाउनको बेला बन्द भएको सीमा नाका नखोल्ने निर्णयमा पुगेपछि भारतबाट नेपाल प्रवेश गर्न खोज्नेहरु सीमा नाकामै अलपत्र परिरहेका बेला सत्तारुढ दलकै प्रवक्ता समेत रहेका सचिवालय सदस्य श्रेष्ठले सीमा नाकासम्म आईसकेका नेपालीलाई नेपाल प्रवेश गर्न दिनुपर्ने जनाएका छन् ।

‘नेपालभित्र प्रवेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय, गैरजिम्मेवार र दुखस्द हो । उनीहरुलाई क्वारेन्टिनमा राख्न कसैको आदेश चाहिँदैन । तत्काल विशेष क्वारेन्टिनमा राखौं’, श्रेष्ठले समाजिक सञ्जाल ट्वीटमा लेखेका छन् ।

नेपाल प्रबेश गर्दै घर पुग्नका लागि सीमानाका सम्म आईसकेका नेपालीलाई खुला आकाशमुनि राख्नु सुन्नै नसकिने कुरा भएको बताएका छन् । उनीहरुलाई नेपाल प्रबेश गराई क्वारेन्टाइनमा राख्नपर्ने उनको सुझाव रहेको छ ।

‘विदेशमा रहेका लाखौंलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन व्यवहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन’ श्रेष्ठले लेखेका छन्, ‘सुन्नै नसकिने यो कुरा संघीय सरकारको नीति हो भनेर कसले भनेको वा व्याख्या गरेको ? हुनै सक्दैन ।’

बिश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसको संक्रमणबाट बच्नका लागि नेपाल र भारत सरकराले लकडाउन गरेका छन् । सरकारले लकडाउन गरे पनि भारतमा बिभिन्न कामले रहेका नेपालीहरु नेपाल प्रबेश गर्न खोज्दा उनीहरुलाई प्रबेश गर्नमा रोक लगाईएको छ ।

सरकारले ११ चैतमा एक पटकका लागि सीमा नाकामा रहेका नेपालीहरु नेपाल प्रबेश गरेको थियो । तर अझै हजारौ नेपाली सीमा नाकामै अलपत्र परेका छन् । सीमानाका सम्म पुगेका नेपालीलाई भारतीय क्वारेन्टाइनमा राखेर खानपान सहितको व्यवस्थापन गरिएको बताइएको छ । यधपी अझै पनि धेरै नेपालीहरु सीमा नाकामै सकसपुर्ण तरिकाले नेपाल प्रबेशको प्रतिक्षामा रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले लकडाउनका बेला सीमा नाका नखोलिने बताए । सरकारले कुटनीतिक पहल गरेर जुन व्यक्ति जुन देशमा छन सोही देशको सरकारले उनीहरुको व्यवस्थापन गर्ने सहमती भएको उनले बताए ।

‘कुटनीतिक पहल गरेर सरकारले लकडाउनको बेला सीमा नाका नखोल्ने निष्कर्षमा पुगेको हो’ भट्टराईले भने, ‘भारतमा हुने नेपालीको भारत सरकारले र नेपालमा हुने भारतीयहरुको नेपाल सरकारले नै व्यवस्थापन गर्ने सहमती भएको छ ।’

लकडाउनका बेला सीमा नाका नखोल्ने प्रधानमन्त्री स्तरबाट भएको निर्णय अनुसार अब नेपालमा रहेका भारतीयहरुको नेपाल सरकारले सम्पुर्ण व्यवस्थापन गर्ने र भारतमा रहेका नेपालीहरुको खानपान लगायत सम्पुर्ण कुराको व्यवस्थापन भारतीय सरकारले नै गरिरहेको उनले बताए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिने उदेश्यले नेपाल सरकारले २५ चैतसम्म लकडाउन गरेको छ । नेपाल, भारत सहित बिभिन्न देशमा अहिले लकडाउन गरिएको छ । बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्ध लडनका लागि बिभिन्न देशका सरकार जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्