एम्बुलेन्स चालक भागेपछि स्वास्थ्य कार्यालय प्रमुखले आफ्नै गाडीमा राखेर कोरोना संक्रमितलाई अस्पताल लगे



बागलुङ : गत ४ चैतमा बेल्जियबाट आएकी बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएपछि बिहीबार बेलुका अस्पताल भर्ना गरिएको छ । कोरोनाको लक्षण नदेखिएको भन्दै उनी घरमै बस्दै आएकी थिइन् । संक्रमण भएको रिपोर्ट पोजेटिभ आएपछि उनलाई विहीबार राति धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । 

तर, अस्पताल लैजान त्यति सहज भने भएन । उनलाई लिन नेपाल रेडक्रस सोसाइटी बागलुङका एम्बुलेन्स चालक जान नमानेपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आफ्नै चालक रुद्र पराजुलीलाई  लिएर विरामी लिन पुगेका थिए । 

मेयरदेखि सिडिओसमेत पन्छिएपछि  स्वास्थ्य कार्यालयका प्रमुख  गुरौ अग्रसर भए ।  पिपिई लगाएर उनले वृद्धालाई आफ्नै गाडीमा राखेर अस्पताल पुऱ्याएका हुन् । 

ती वृद्धा छोरी भेट्न बेल्जियम गएकी थिइन् । कतार एयरको क्युआर– ६५२ विमानबाट उनी ४ चैतमै फर्किएकी थिइन् । सोही दिन उनी यति एयरलाइन्समार्फत पोखरा गएकोमा त्यहाँबाट स्कार्पियोमा बाग्लुङ गएकी थिइन् । बाग्लुङकै अर्की कोरोना संक्रमित युवती र उनी सँगै फर्किएका थिए । 

बाग्लुङकी पहिलो संक्रमितको परिवारमा संक्रमण देखिएको छैन । बिहीबार संक्रमण पुष्टि भएकी वृद्धाको परिवारको पनि परीक्षण गर्न लागिएको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्