‘नेपालमा आइसक्यौं, किन फेरि भारत जाने’



काठमाडाैं : नेपालगन्जको सीमा नाकामा अलपत्र नेपालीले भारतीय क्वारेन्टाइनमा जान अस्वीकार गरेका छन्। उनीहरूलाई बुधबार रातिदेखि उत्तर प्रदेशको बहराइच नानपारास्थित क्वारेन्टाइनमा पठाउन खोजिएको हो।

‘धेरै जना हुनेलाई सम्बन्धित जिल्लामा गाडी बोलाएर पठाउने हाम्रो तयारी थियो। नेपाल सरकारको नीतिअनुसार जताबाट आएका हुन् उतै फर्काउने निर्देशनले गर्दा पठाउन सकेनौं’, बिहीबार बिहान सीमा नाका जमुनाहा पुगेकी नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले अन्नपूर्णसँग भनिन्, ‘सीमामा अलपत्र परेकाहरू भने नेपाली भूमिमा आइसक्यौं, किन फेरि भारत जाने भनेर अडान लिइरहेका छन्।’

नेपालगन्जमा निर्माणाधीन नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीछेउमै खुला चउरमा रहेका उनीहरूलाई बुधबार साँझ सम्बन्धित जिल्लामा पठाउने भन्दै जमुनाहामा ल्याइएको थियो। प्रधानमन्त्री कार्यालयको ठाडो आदेश भन्दै नाकामा रहेका नेपालीलाई झनै अलपत्र पार्ने काम भएको छ। दसगजा क्षेत्रमा बस्ने टेन्टको व्यवस्था भइरहेका बेला सरकारले त्यहाँ बस्न पनि अनुमति दिएको छैन।

जमुनाहा पुगेकी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ले सरकारले घर फर्किन नदिने भएपछि भारतीय पक्षलाई क्वारेन्टाइनमा राख्न आग्रह गरेको सुनाइन्। नेपालबाट प्रदेश सांसद नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरीका बाँके प्रमुख एसपी वीरबहादुर ओली, सशस्त्र प्रहरी बलका एसपी दीपक अधिकारी र भारतीय पक्षबाट बहराइच जिल्लाका डीएम शम्भुकुमार, एसपी विपिनकुमारबीच बुधबार राति छलफल भएको थियो। सीमामा रहेका नेपालीलाई आधा–आधा व्यवस्थापन गर्ने नीतिअनुरूप आधालाई भारतीय पक्ष नानपारास्थित क्वारेन्टाइनमा लैजान तयार भएको थियो।

‘हामीलाई गोली हान बरु भारतमा जान्नौं। क्वारेन्टाइनका लागि पैसाको अभाव हुन्छ भने हामी आफ्नै खर्चमा खाना खान तयार छौं’, अलपत्र नेपालीको भनाइ उद्धृत गर्दै सांसद नमुनाले भनिन्, ‘नेपाली भूमिमै क्वारेन्टाइन बनाएर राख्छौं भन्दा पनि नेपाल सरकारले जहाँबाट आएका हुन् उतै फर्काउने नीतिले हामीले व्यवस्थापन गर्न सकेनौं। गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि अनुरोध गर्‍यौं। सबैको जवाफ एउटै छ– नेपाल प्रवेश गर्न दिनुहुँदैन।’

नाकामा अलपत्र यात्रीको संख्या बढ्दो छ। बुधबारसम्म १ सय ६३ जना मात्र रहेकामा बिहीबार बिहानसम्म १ सय ८१ पुगेको छ। नेपालले दसगजामा बस्न नदिने र उनीहरू भारत जान नचाहेपछि झन बिचल्ली भएको छ।

दुवै पक्ष मिलेर व्यवस्थापन

सीमा नाकामा रोकिएका नेपाली र भारतीय नागरिक एकअर्काको देशमा क्वारेन्टाइनमा छन्। कोरोनाको जोखिम बढे पनि सीमाबाट आउजाउ नरोकिएपछि दुवै देशले जो जहाँ छन् त्यहीं व्यवस्थापन गर्न थालेका हुन्।

भारतीय सीमा नाका सुनौलीमा तीन दिनसम्म रहेका नेपाली नौतुनहको क्वारेन्टाइनमा छन्। भारत फर्किंदै गरेका भारतीय बेलहियाको क्वारेन्टाइनमा छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुवै देशका सरकारले सीमा नाकाबाट आवतजावतमा रोक लगाएका कारण उनीहरू सीमामा रोकिएका थिए। सीमामा अलपत्र परे पनि संघीय सरकारले प्रवेश अनुमतिको संकेत नदिएपछि दुवै देशका स्थानीय अधिकारीले समझदारी गरेर क्वारेन्टाइन व्यवस्थापन गरेका हुन्।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार अर्को निर्णय नभएसम्म एकअर्का देशमा रहेका नेपाली र भारतीय १४ दिनसम्म चिकित्सकीय निगरानीमा क्वारेन्टाइनमा रहनेछन्। उनीहरूलाई एकअर्का मुलुकले खानपिन र स्वास्थ्यको हेरचाह गरिरहेको उनले बताए।

प्रदेश ५ सरकारले सीमा क्षेत्रमा अलपत्रलाई सम्बन्धित जिल्लामा समूह बनाई पठाउने र सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखी खानपिनको व्यवस्था गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन।

भारतीय सीमामा ३ सयभन्दा बढी नेपाली र नेपाली सीमामा १ सय ५६ जना भारतीय अलपत्र परेका थिए। नेपालीलाई सीमादेखि ८ किलोमिटर पर नौतनवास्थित नौतनवा इन्टर कलेज र भारतीयलाई सीमाबाट २ किलोमिटर वर प्रतिमान निमा स्मृति प्रतिष्ठानको भवनमा राखिएको छ। सुत्केरी महिला र स्वास्थ्य समस्याका कारण केही नेपाली र एक जना भारतीय नागरिकको उद्धार गरी सम्बन्धित मुलुकमा पठाइएको छ। भारतीय क्वारेन्टाइनमा ३ सय ५ नेपाली र नेपालमा १ सय ५५ जना भारतीय छन्।

‘संकटमा परेकालाई सहयोग गर्नु मानवीय दायित्व हो’, प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले भनिन्, ‘संकटको समयमा व्यक्तिका साथै राज्यलाई सहयोग गर्नु हाम्रो दायित्व भएकाले हामीले क्वारेन्टाइनका लागि भवन उपलब्ध गराएका हौं।’

भैरहवामा भारतीयलाई खानपिन र स्वास्थ्यलगायत आवश्यक सबै प्रबन्ध सिद्धार्थनगर नगरपालिकाले गरेको वरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताए। उनीहरूको खानपिनका लागि लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघले पनि ५१ हजार रुपैयाँ मूल्यबराबरको खाद्य वस्तु प्रदान गरेको छ। अन्य नेपालीले पनि आवश्यकताअनुसार सहयोग गरिरहेका छन्।

पन्थका अनुसार बिहीबार भैरहवा भन्सार कार्यालयमा बसेको नेपाल र भारत बैठकले दुवै देशका अधिकारीले एकअर्का मुलुकका क्वारेन्टाइनमा राखिएका नागरिकको स्थलगत निरीक्षण गर्न सक्ने, आवश्यक सुधार गर्नुपर्ने विषय भए सुधार गर्न लगाउनेलगायत निर्णय गरेको छ। सोही निर्णयअनुसार भारतमा क्वारेन्टाइनमा राखिएका नेपालीको अवस्थाबारे निरीक्षण गर्न टोली पठाउन लागिएको उनले बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्