प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर मेसिन जडान भएसँगै कोरोनाको नमुना परीक्षण सुरु



जनकपुरधाम :प्रादेशिक अस्पताल जनकपुरमा रियल टाईम पीसीआर मेसिन जडान भएसँगै आज (शुक्रबार) देखि कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ ।

प्रादेशिक अस्पतालमा सेटअप गरिएको मेसिन शुक्रबार बिहान सञ्चालनमा आएपछि परीक्षण सुरु गरिएको हो । आजदेखि प्रयोगशाला शुरुवात भएसँगै दैनिक १० जनाको थ्रोट स्वाबको नमुना परीक्षण गर्न सकिने प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन् ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले ल्याबको निरीक्षण गर्दै यसबाट केहि राहत पुगेको बताए । उनले सप्तरीको राजविराज र पर्साको वीरगञ्जमा पनि चाँडै कोरोना भाईरस परीक्षण ल्याब स्थापना गर्ने प्रक्रिया अघि बढाईने बताए ।

कोरोना भाइरस विरुद्धको लडाइमा संलग्न स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न मन्त्री साहले आग्रह गरे । उनले स्वास्थ्यकर्मीको बिमा २५ लाख गर्नुका साथै चिकित्सकको हकमा तलबको १ हजार ५, प्राविधिकको हकमा ७ सय ५५ र अन्य कर्मचारीको हकमा ५ सय ५ रुपैयाँ भत्ता बढाइएको पनि जानकारी दिए ।

प्रादेशिक अस्पताल जनकपुरले बुधबार अपरान्ह ओपीडी भवनको माथिल्लो तल्लामा कोठा उपलब्ध गराएपछि काठमाडौंबाट आएका दुई जना प्राविधिक सर्वेन्द्र मधुप र विपिन तिमिल्सिनाले पीसीआर मेसिन जडान गर्ने कार्य हिजो (बिहीबार) देखि सुरु गरेका थिए ।

आफूहरुले ठाउँ नै ढिलो गरी पाएकोले मेसिन जडान गर्न ढिलाइ भएको प्राविधिक टोलीका सदस्य सर्वेन्द्र मधुपले बताए । उनीहरु केहि दिन बसेर अस्पतालका ल्याबका प्राविधिकहरुलाई प्रशिक्षण दिने छन् । संघीय सरकारले मित्र राष्ट्र चीनबाट ल्याएका ५ वटा पिसिआर मेसिनमध्ये ४ वटा प्रदेशलाई १-१ वटा वितरण गरेको छ ।

कोरोना परीक्षणका लागि आवश्यक सो मेसिन प्रदेश २ को जनकपुरधाम, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीलाई दिएको छ । प्रदेश १ मा यसअघि नै मेसिन जडान भइसकेको छ भने बागमती प्रदेशको शुक्रराज ट्रपिकल हस्पिटमा चालु अवस्थामा रहेको छ ।

यसअघि कोरोना परीक्षण गर्ने पिसिआर मेसिन नहुँदा प्रदेश २ बाट नमुना संकलन गरी काठमाडौंस्थित शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा पठाउने गरिएको थियो । प्रादेशिक अस्पताल जनकपुरलाई पठाइएको पीसीआर मेसिनले हरेक दिन बढीमा १० वटा जाँच गरि ३ घण्टामै रिपोर्ट दिने छ ।

प्रतिक्रिया दिनुहोस्