कलैयामा दलबलका साथ मन्त्री सोनल, सामाजिक दूरीको गरेनन् पालना



जनकपुरधाम : नेपाल सरकारले कोरोनाको संक्रमणबाट बच्न देशभरी लकडाउन गरेको छ । तर प्रदेश २ का जनप्रतिनिधिले नै लकडाउनको उल्लंघन गरि दलबलका साथ सामाजिक दूरीको कुनै ख्याल गरेका छैनन् ।

बिहीबार प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कोरोना संक्रमितलाई उपचार गर्न पर्सा र बाराका विभिन्न अस्पताल तथा जनस्वास्थ्य कार्यालयलाई उपकरण उपलब्ध गराउन गएको बेलामा यस्तो देखिएको थियो ।

उनले वीरगन्जको नारायणी अस्पताल र जनस्वास्थ्य कार्यालय पोखरीया तथा बाराको कलैया अस्पताल एवं जनस्वास्थ्य कार्यालयलाई कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई पिपिई लगायतका उपकरण दिन गएको बेलामा सामाजिक दूरीको पालना नै नगरि आफ्ना दर्जनौं नेता कार्यकर्ताका साथ बिचमा देखिए ।

स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराउने सरकारको दायित्व रहेपनि यस्तो संकटको समयमा सामाजिक दूरीको ख्याल गर्नु पनि एउटा मन्त्रीको लागि उत्तिकै महत्वपूर्ण देखिन्छ । एकातर्फ विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस छिटो सर्ने भएकाले मानिसहरूमा यसले अझ महामारी फैलाउन सक्ने आशंका गरेको अबस्था छ भने अर्कोतर्फ जनप्रतिनिधिलाई कुनै डर नै नभएको देखिन्छ ।

आफ्नो प्रदेशका जनतालाई यस महामारीबाट कसरी बच्न सकिन्छ भन्ने कुरा सिकाउनुपर्नेमा उल्टै उनले नै सामाजिक दूरीको ख्याल नगरेपछि सर्वसाधारण जनता के गर्छ ? कोरोना भाइरसको संक्रमणबाट मानिसमा त्रास फैलिएको यस संकटपूर्ण अवस्थामा यसको नियन्त्रणका लागि भीडभाडमा जाँदा मास्क लगाउनुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ ।

सामाजिक दूरी कोरोना नियन्त्रणको उपाय भएपनि मन्त्री सोनलले आफ्ना दर्जनौं नेता कार्यकर्ताका साथ यस्ता महत्वपूर्ण कुरालाई ख्याल नगर्नु अशोभनीय देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्