लकडाउन खुलेको कम्तिमा दुई सातापछि मात्रै एसईई परीक्षा



काठमाडौं : लकडाउन पूर्णरुपमा खुलेको कम्तीमा दुई सातापछि माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सञ्चालन गरिने भएको छ ।

कोरोना भाइरस (कोभिड –१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउन पूर्ण रुपमा खुलेको दुई सातापछि मात्रै एसईई परीक्षा हुने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि मात्रै परीक्षा गरिने जानकारी दिएका छन् ।

उनले विना कुनै शर्त लक डाउन खुलेपछि एसईईको नयाँ परीक्षा तालिकाका बारेमा जानकारी दिइने बताए ।

खकुरेलले विद्यार्थीलाई दुई साताको समय दिएर मात्रै परीक्षा गरिने जानकारी दिएका छन् ।

एउटा परीक्षा केन्द्रमा तीन सय जनासम्म विद्यार्थी परीक्षामा सहभागी हुने भएकाले भयरहित तरिकाले परीक्षा सञ्चालनका लागि जनजीवन सामान्य अवस्थामा आउनुपर्ने उनको भनाइ छ । अहिलको अवस्थामा भने कहिले परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केही भन्न नसकिने उनले बताए ।

कोरोना भाइरसको सङ्क्रमणको कारण चैत ६ गतेबाट सञ्चालन हुनुपर्ने एसईई परीक्षा हाल स्थगनको अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्