स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकोबारे छानबिन गर्न राजपाको माग



काठमाडौं : सरकारले कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि ल्याउन लागिएको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार र अनियमितता भएको हुनसक्ने भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले छानबिन गर्नुपर्ने माग गरेको छ ।

पार्टीको अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे सत्यतथ्य बाहिर आउनुपर्ने भन्दै छानबिनको माग गरेका हुन् ।

‘यस्तो महामारीको बेलामा पनि सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्री अहिलेसम्म पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दुःखद र गैरजिम्मेवारीको पराकाष्ठा हो । त्यसमा पनि अझ खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गएकोले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछौं ।’ विज्ञप्तिमा लेखिएको छ ।

साथै कोरोनाबारे झन गम्भीर र जिम्मेवार हुनुपर्ने भन्दै राजपाले सरकारको ध्यानाकर्षण गरेको छ । उनले उक्त महामारीबाट जोगिन तथा लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आआफ्नो घरमै बस्न सम्पूर्ण नागरिकसँग हार्दिक अपिलसमेत गरेका छन् ।

प्रेस विज्ञप्ति

मिति-२०७६-१२-२१

कोरोना भाइरस (कोभिड-१९)को महामारी दिनानुदिन झन बढ्दै गइरहेको अवस्थामा सरकार अझ गम्भीर र जिम्मेवार बन्नुपर्ने भएकोले राजपा नेपालद्वारा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं र यस माहामारीबाट जोगिन तथा लक डाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आ-आफ्नो घरमै वस्न सम्पुर्ण नागरिकसंग हार्दिक अपील गर्दछौं ।

– यस्तो महामारीको वेलामा पनि सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु अहिलेसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दु:खद र गैरजिम्मेवारीको पराकाष्ठा हो त्यसमा पनि अझ खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गरेकोले तत्काल सत्यतथ्य छानबिन गरि दोषीहरु माथि कडा भन्दा कडा कार्वाहीको मांग गर्दछौं ।

– नेपाल र भारतको सिमानाकामा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकोले तत्काल ती नागरिकहरुलाई स्वदेश ल्याउन बाताबरण बनाउने र स्वास्थ्य चेकजाँच गरि शंकास्पद व्यक्तिहरूलाई क्वारेन्टाइन मा समेत राख्न आग्रह गर्दछौं ।

-अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्रीहरु वडा तहबाटै आम नागरिक सम्म पुर्याउने निर्णय सरकारले गरे पनि आजको दिन सम्म पनि कार्यान्वयन नभएको हुनाले केन्द्र सरकार ,प्रदेश सरकार र स्थानीय तहालाई जिम्मेवार हुन र तत्तपरता देखाउन ध्यानाकर्षण गराउन चाहन्छौं ।

शरतसिंह भण्डारी
संयोजक
राष्ट्रिय जनता पार्टी नेपाल

प्रतिक्रिया दिनुहोस्