नेपाली सेनाले रद्द गर्‍यो मेडिकल सामग्री खरिद टेण्डर प्रक्रिया



काठमाडौं : नेपाली सेनाले मेडिकल सामाग्री खरिद टेण्डर प्रक्रिया रद्द गरेको छ । सेनाले स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि आह्वान गरेको टेण्डर प्रक्रिया रद्द गरेको हो ।

सरकारले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको जनाएको छ ।

सेनाले सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरेको थियो ।

सरकारबाट प्राप्त १० करोडमा आजैदेखि २० बेडको आइसीयूको काम भइरहेको छ भने ७ करोडको टेन्डर प्रक्रिया रद्ध भएको नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

प्रवक्ता पाण्डेका अनुसार ७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर रद्द भएको हो । उनले भने, ‘सरकारले जिटुजी प्रक्रियामार्फत सामग्री किन्ने निर्णय गरेकाले सेनाले पनि अब जिटुजीमार्फत सामग्री खरिद गर्छ ।’

प्रतिक्रिया दिनुहोस्