५.५ प्रतिशतले अमेरिकी अर्थतन्त्र खुम्चिने पूर्वानुमान



एजेन्सी : अमेरिकी बैंक मोर्गन स्टेनलीले कोरोना भाइरसका कारण अमेरिकाको अर्थतन्त्र सन् २०२० मा ५.५ प्रतिशतले खुम्चिने पूर्वानुमान गरेको छ ।

उसले अमेरिकी अर्थतन्त्र सन् १९४६ पछि पहिलो पटक यसरी ओरालो लाग्ने जनाएको छ । कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्र दोश्रो त्रैमासमा यसअघि अनुमान गरिए भन्दा ३८ प्रतिशतले कम हुने उसको अनुमान छ ।

स्टेनलीले कोरोना भाइरसका कारण परेको असरलाई ध्यान दिदैं नयाँ आर्थिक पूर्वानुमान सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो । अमेरिकी बैंकले पहिलो त्रैमासमा यसअघि आफूले गरेको २.४ प्रतिशतको संकुचन अब ३.४ प्रतिशत हुने जनाएको छ भने दोश्रो त्रैमासमा ३८ प्रतिशतको संकुचन आउने उसको अनुमान छ ।

यसअघि उसले दोश्रो त्रैमासमा ३० प्रतिशत संकुचन हुने अनुमान गरेको थियो । बैंकले अमेरिकी बेरोजगारी दर दोश्रो त्रैमासमा कीर्तिमानी रुपमा १५.७ प्रतिशतले वृद्धि हुने बताएको छ । यसअघि उसले बेरोजगारीदर १२.८ प्रतिशत हुने अनुमान गरेको थियो । मोर्गन स्टेनलीले यस त्रैमासमा २ करोड १० जनाले जागिर गुमाउने मोर्गन स्टेनली जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्