चोरी शिकार गर्ने समूहविरुद्ध सशस्त्रको एक्सन, ३ जना पक्राउ



विराटनगर : हाल कोरोना भाइरसको रोकथामका लागि नेपाल लक डाउनमा रहेको अवस्थामा वन्यजन्तुको चोरी शिकारी गर्ने समुह सक्रिय रहेको पाइएको छ ।

मोरङ्ग जिल्लामा चारकोसे झाडी रहेको वनक्षेत्र वन्यजन्तुका लागि उपयुक्त बासस्थान मानिन्छ तर वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतनाको अभाव र मौका छोपी फाइदा लिने गलत समूहको कारण चोरी शिकारी रोकिन सकेको छैन ।

शुक्रबार दिउँसो ४ बजे सशस्त्र प्रहरी बल नेपाल हाईवे सुरक्षा पोष्ट सलकपुर मोरङ्गबाट सशस्त्र प्रहरी निरीक्षक विदुर भट्टराई र सवडिभिजन वन कार्यालयका रेन्जर विजय प्रजाको संयुक्त टोली सुन्दरहरैचा नगरपालिका ८ स्थित सलकपुर सामुदायिक वनको जङ्गलमा खटिएको थियो ।

अप्रेशन गर्ने शिलशिलामा अन्दाजी २५ जनाको शिकारी समूहसँग जम्काभेट भएको र सो समूहले अकस्मात गस्ती टोलीलाई ९ फायर खोलेको र जवाफी फायरमा वन रक्षक टोलीले थ्रि नट थ्रि राइफलबाट ७ राउण्ड र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट १ राउण्ड फायर भएको थियो । सो दोहोरो फायरमा कुनै पनि मानवीय क्षति भने भएको छैन ।

सशस्त्र प्रहरी बल नेपाल र वन रक्षकको टोलीले सफलतापूर्वक अप्रेशन सञ्चालन गर्न सो सामुदायिक वनलाई कडाई गरेकोमा अन्य शिकारी समूह भागेको र ३ जना शिकारीलाई पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ पर्नेमा मोरङ्ग केरावारी गाउँपालिका बस्ने ३५ वर्षिय डम्बर जोगी, सोही ठाउँ बस्ने २७ वर्षिय किसान कार्की, जिल्ला झापा बुद्धशान्ती गाउँपालिका बस्ने २७ वर्षिय किरण धिमाल रहेका छन् । उनीहरुको साथबाट भरुवा बन्दुक दुई थान, भरुवा बन्दुकमा लाग्ने बारुद अन्दाजी तीन सय ग्राम, भरुवा बन्दुकमा लाग्ने केप दुई थान मोबाइल सेट एक थान बरामद गरी आवश्यक कारवाहीको लागि सवडिभिजन वन कार्यालय सलकपुरमा बुझाइएको छ ।

प्रदेश नं.१ मा वन पैदावारको चोरी अवैध ओसारपोसार, वन्यजन्तुहरुको चोरी शिकारी नियन्त्रण गर्न मातहत सशस्त्र प्रहरी बल नेपालका युनिटहरुलाई निर्देशन दिएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्