नेपालमा सङ्क्रमण दोस्रो चरणमा : लकडाउन कडा पार्ने सरकारको निर्णय



काठमाडौं : थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको प्रतिबन्ध अझ प्रभावकारी बनाउने र विदेशबाट फर्किएका तथा क्वारन्टीनमा रहेका व्यक्तिहरूमा व्यापक रूपमा परीक्षण गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन्।

कोरोनाभाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले सरकारले लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए। नेपालभित्रै सङ्क्रमण सरेको पहिलो घटना पुष्टि भएपछि तथा भारतबाट फर्किएका अन्य दुई व्यक्तिमा सङ्क्रमण भेटिएपछि मन्त्रिपरिषद्को बैठक शनिवार अपराह्ण बसेको थियो।

मन्त्री पुनका अनुसार कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा क्वारन्टीनमा राखिएका व्यक्तिहरू तथा विदेशबाट फर्किएका व्यक्तिहरूको परीक्षणमा तीव्रता दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

यसअघि सुरुमा चैत ११ गतेदेखि १८ गते बिहानसम्मको निम्ति लगाइएको प्रतिबन्ध एक साता थपेर चैत्र २५ गते मध्यरातसम्म पुर्‍याइएको थियो।

अन्तर्राष्ट्रिय उडानमा वैशाख ३ गतेसम्म रोक लगाइएको छ।

‘सङ्क्रमण दोस्रो चरणमा’

नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ।

एक जना निको भइसकेका छन् भने उपचाररत अन्यको स्वास्थ्यस्थिति सामान्य रहेको अधिकारीहरूले बताएका छन्।

सुदूरपश्चिमाञ्चल प्रदेशका थप तीन जनामा सङ्क्रमण पुष्टि भएको शनिवार पुष्टि गरिएको थियो।

तीमध्ये विदेशबाट आएका आफन्तबाट एक महिलामा भाइरस सरेको बताइएको छ।

त्यससँगै कोरोनाभाइरसको सङ्क्रमण नेपालमा दोस्रो चरणमा प्रवेश गरेको अधिकारीहरूले बताएका छन्।

अन्य आठजना सङ्क्रमित सबै भारत र अन्य मुलुककाबाट नेपाल आएकाहरू हुन्।

प्रतिक्रिया दिनुहोस्