भारतबाट फर्केकामा धमाधम कोरोना संक्रमण, ९ सय ९८ जनाको भीडमा थिए संक्रमित



काठमाडाैं : सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो।

कञ्चनपुरको बेदकोटका ४१ वर्षीया युवा भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट कञ्चनपुरको ब्रम्हदेव हुँदै लुकेर नेपाल छिरेका हुन्। कैलालीको लम्कीका युवा चैत ११ गते धनगढीसँग सीमा जोडिएको गौरीफन्टा नाकाको भीडबाट नेपाल प्रवेश गरेका हुन्। कैलालीका कोरोना संक्रमित युवाका आफन्तमा पनि संक्रमण फैलिएको छ। चैत ७ गते दुबईबाट भारत हँुदै ती युवा नेपाल आएका थिए। सोही रात उनी काठमाडौंमा मामाको घरमा बसि चैत ८ गते बुद्ध एयरको विमानबाट नेपालगञ्ज आएका थिए। नेपालगञ्जबाट उनी अत्तरियासम्म माइक्रोमा, त्यहाँबाट धनगढीको चौराहासम्म विंगर गाडी र त्यहाँबाट अटोमा उनी धनगढीस्थित घर पुगेका थिए।

चैत ११ गते ज्वरो र रुघाखोकी लागेर सेती प्रादेशिक अस्पताल भर्ना भएका युवामा १४ गते कोरोना संक्रमण देखिएको हो।

ती युवामा संक्रमण देखिएपछि चैत १५ गते उनकी श्रीमती, छोरी, दाजु–भाउजु, भतिजा–भतिजी र बुबा–आमालाई चार दिनसम्म धनगढी रंगशालाको क्वारेन्टाइनमा राखिएको थियो।

परिवारका सदस्यले घरमै आइसोलेसनमा बस्ने भनेपछि उनीहरुलाई स्वाब संकलन नगरिकनै चैत १८ गते घर पठाइएको थियो। सामाजिक सञ्जालमा उनको स्वाब संकलन नगरी घर पठाएको भन्दै आलोचना भएपछि चैत १९ गते परिवारका ८ जना र उनका आफन्त २ जना गरी १० जनाको थ्रोट स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो।

ती युवाकी भाउजुलाई शनिबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। उनलाई ज्वरो र रुघाखोकीका लक्षण देखिए पनि अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

भारतबाट आएका दुई जनामा पनि संक्रमण

भारतबाट आएका दुईजनामा पनि संक्रमण देखिएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ४१ वर्षका पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका २१ वर्षका युवामा कोरोना संक्रमण भेटिएको हो।

नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनबाट बिहीबार ९२ जनाको थ्रोट स्वाब संकलन गरी काठमाडांै लगेको थियो। तीमध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय धनगढीको टोली र छाउनीस्थित नेपाली सेनाको टोलीले भारतबाट आएका ९२ जनाको स्वाब संकलन गरेको थियो।

कञ्चनपुरको बैजनाथ माविबाट १० जना, बेदकोट नगरपालिका– ९ को कृषि फर्मको छात्राबासबाट १३ जना, कैलालीको लम्कीचुहा–९ प्रतापपुरको सरस्वती मावि क्वारेन्टाइनबाट ४४ जना र कैलालीको गौरीगंगा नगरपालिकाको क्वारेन्टाइनबाट २५ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो। तीमध्ये कञ्चनपुरको बेदकोट नगरपालिका–९ को क्वारेन्टाइनका ४१ वर्षीय ती ब्यक्तिमा र कैलालीको लम्कीचुहा–९ प्रतापपुरको सरस्वती मावि क्वारेन्टाइनमा बसेका २१ वर्षीया युवामा कोरोना संक्रमण देखिएको हो।

कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ती ब्यक्ति चैत २ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको सल्लीमा कामका लागि गएका थिए। नेपाल र भारत दुबै देशमा लकडाउन भएपछि उनी त्यहाँबाट पैदल हिँडेर कञ्चनपुरको ब्रम्हदेब हुँदै लुकेर नेपाल प्रवेश गरेका हुन्।

उनीसहितका ११ जनालाई ब्रम्हदेबमा सशस्त्र प्रहरीले पक्राउ गरी गड्डाचौकीमा ज्वरो मापन गरी बेदकोट नगरपालिकाको कृषि फर्म क्वारेन्टाइनमा राखेको बेदकोट नगरपालिकाका स्वास्थ्य ईकाई प्रमुख हरिशा पालले जानकारी दिइन्। सुदूरपश्चिममा भारतबाट लकडाउन लागू हुने दिनसम्म कबिर डेढ लाख मानिस भित्रिएका थिए।

सेनाले, कोरोना समुदायमा सरेको छ वा छैन भनेर हेर्नका लागि ‘सर्भिलेन्स टेस्ट’ गरेको छ। कञ्चनपुरको बेदकोट नगरपालिकाको उक्त क्वारेटाइनमा सेनाले थ्रोट स्वाब संकलन गरेपछि थप पाँच जनालाई क्वारेन्टाइनमा राखिएको छ।

सेनाको ‘यो सर्भिलेन्स टेस्ट’ ले भारतबाट आएकामा कोरोना संक्रमण पुष्टि भएको कैलालीका जनस्वास्थ्य प्रमुख लालबहादुर धामीले बताए।

९९८ जनाको भीडमा थिए संक्रमित

कोरोना संक्रमित कैलाली लम्कीचुहा–९ प्रतापपुर (धनचैया) का २१ वर्षीय युवा चैत ११ गते कैलालीको गौरीफन्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको खुलेको छ।

लकडाउनका बेला सीमामा उनीसहितका ९९८ जनालाई १९ वटा बसमा राखेरसम्बन्धित स्थानीय तहमा पठाइएको थियो।

त्यस दिन गौरीफन्टा नाकामा नेपाल प्रवेश पाउनु पर्ने भन्दै प्रहरीमाथि ढुंगामुढा समेत भएको थियो।

उनीहरुको नाम ठेगानासहितको रेकर्ड राखेर बेलुकी बसमा उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नेसर्तमा गन्तब्यतर्फ पठाइएको थियो।

११ गते लम्कीचुहास्थित घरमै बसेका उनलाई दोस्रो दिन मात्रै क्वारेन्टाइनमा लगिएको लम्कीचुहा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिइन्। ‘एक रात घरमा बसेका युवाले घरमा पनि कोरोना सारेको हुन सक्छन्’, बिसीको आशंका छ।

उनीसहितका ४४ जनालाई चैत १२ गते मात्रै लम्की चुहा–९ मा रहेको सरस्वती माविमा राखिएको क्वारेन्टाइनका संयोजक तथा प्रतापपुर स्वास्थ्यचौकी इञ्चार्ज करिसिंह भुलले बताए।

‘कोही कोही त घरमा बसेको ३–४ दिन पनि भइसकेको थियो’, उनले भनिन्।

स्वास्थ्य शाखा प्रमुख बिसीले कोरोना पुष्टि भएका युवामा कुनै पनि लक्षण भने नदेखिएको बताइन्। ‘क्वारेन्टाइनमा राखिएका ४४ जनाकै दैनिक ज्वरो नाप्ने गरेका थियौं’ बिसीले भनिन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्