क्वारेन्टाइनका नाममा अमानवीय शिविर, महाकालीपारि दुर्दशामा हजार नेपाली



भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त गरेका छन् । ‘हामीलाई भेडाबाख्राभन्दा पनि नराम्रो अवस्थामा राखिएको छ, एकैठाउँ ठेलमठेल गरेर सयौँजना सुत्दा कोरोनाको जोखिम झन् बढेको छ,’ शिविरमा रहेका दिलेन्द्र महतराले भने, ‘आफ्नो देश फर्केर नियमअनुसार क्वारेन्टाइनमा बस्न हामी तयार थियौँ, तर नेपाल सरकारले नै हामीलाई मर्नका लागि नै यहाँ छाडिदियो, आफ्नै देशले अवहेलना गरेपछि विदेशीबाट के आशा गर्ने ?’ 

क्वारेन्टाइनका नाममा भारतीय प्रशासनले नेपालीलाई अमानवीय शिविरमा राखेको छ, कुनै एकलाई संक्रमण भए हजारजना जोखिममा

भारतको नारकीय शिविरबाट नेपाली भन्छन्, ‘देश फर्केर नियमअनुसार क्वारेन्टाइनमा बस्न तयार थियौँ, तर आफ्नै देशले अवहेलना गर्‍यो, विदेशीबाट के आशा गर्ने ?’

काठमाडौं : सिमानामा आएर तीन दिन नारा लगाउँदा पनि स्वदेश फर्कन नपाएका एक हजार ६ मजदुरलाई भारतीय प्रशासनले धार्चुलाका क्वारेन्टाइनमा राखेको छ । संयोगले कुनै एक नेपाली संक्रमित भए सबै जोखिममा पर्ने अवस्था छ । 

भारत उत्तराखण्डकोे पिथौरागढ प्रशासनले एक हजार ६ नेपालीलाई पाँच सेल्टरमा राखेको छ । धार्चुलामा रहेको मिनी स्टेडियममा तीन सय २५, बालुवाकोट महाविद्यालयमा तीन सय ७१, जौलजिबीमा दुई सय २५, निगलपानीमा ३२ र बरममा ५३ नेपाली राखिएको छ । 

धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले नेपाली राखिएको क्वारेन्टाइनको शनिबार अनुगमन गरेका छन् । शुक्लासहित स्वास्थ्य परीक्षण टोलीले कुनै पनि नेपाली अहिले स्वास्थ्य समस्यामा नरहेको प्रतिक्रिया दिएको जानकारी धार्चुलास्थित पत्रकार राकेश तिवारीले दिए । कसैलाई कोरोना लक्षण देखिए स्वास्थ्य केन्द्रमा लग्ने तयारी छ । तर, क्वारेन्टाइमा रहेका कसैमा पनि कोरोना परीक्षण भने भएको छैन । 

भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त गरेका छन् । ‘हामीलाई भेडाबाख्राभन्दा पनि नराम्रो अवस्थामा राखिएको छ, एकैठाउँ ठेलमठेल गरेर सयौँजना सुत्दा कोरोनाको जोखिम झन् बढेको छ,’ शिविरमा रहेका दिलेन्द्र महतराले भने, ‘आफ्नो देश फर्केर नियमअनुसार क्वारेन्टाइनमा बस्न हामी तयार थियौँ, तर नेपाल सरकारले नै हामीलाई मर्नका लागि नै यहाँ छाडिदियो, आफ्नै देशले अवहेलना गरेपछि विदेशीबाट के आशा गर्ने ?’ 

नेपालीहरू सुक्खा भात खाएर जीवन धानिरहेका छन् । तर, यो घडीमा उनीहरू खानाभन्दा पनि जीवनकै सुरक्षाप्रति चिन्तित छन् । खाना खाने वेलामा मात्र खुला चौरमा राखिन्छ । बाँकी २३ घन्टा उनीहरू भिडमै हुन्छन् । 

कोरोना संक्रमणको जोखिम घटाउन विश्वभर सामाजिक दूरी घटाउन पहल भइरहेको छ । तर, धार्चुलामा भने न्यूनतम संक्रमण सर्न नदिन अपनाउनुपर्ने न्यूनतम मापडण्डसमेत पूरा नभएकोमा सामाजिक संस्थाले सरकारको ध्यानाकर्षण गरेका छन् । नेपालीको विषयका के गर्न सकिन्छ भनेर आइएफआरसीले विवरण मागेको नेपाल रेडक्रस सोसाइटी दार्चुलाका सभापति गोपालसिंह महराले जानकारी दिए । त्यस्तै, धार्चुलामा रहेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइमा राख्न इन्सेकले सरकारलाई आग्रह गरेको जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीले जानकारी दिए ।  

धार्चुलामा मात्रै होइन, सीमामा आएर आफ्नै देश प्रवेश गर्न नपाएका नेपाली धेरै छन् । भारतसँग सीमा जोडिएका स्थानीय तहका जनप्रतिनिधि यसलाई मुख्य समस्या बताइरहेका छन् । 

सरकारले कूटनीतिक रूपमा भारतसँग कुराकानी गरेर दुवै देशका नागरिकलाई जहाँजहाँ छन्, त्यहीँ सुरक्षित ढंगले बस्ने वातावरण तयार नगरेको सांसद दिलेन्द्र बडू बताउँछन् । दार्चुलाबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद बडू भन्छन्, ‘सिमानामा आएर सयौँ नेपाली अड्किएका छन् । उनीहरूलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखे भयो अथवा भारतमै राम्रो ढंगले बस्ने व्यवस्था मिलाइदिन भारत सरकारसँग कुराकानी गर्न पनि हामीले परराष्ट्र मन्त्रीलाई सल्लाह दियौँ, तर चासै लिनुहुन्न । अहिले मान्छेको बिजोग छ । बिहानदेखि बेलुकासम्म फोनमार्फत गुनासो आइरहेका छन् ।’ उनले विज्ञप्तिसमेत निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । 

सीमाको नेपाली ल्याउने कुरामा सरकारको कमजोरी रहेको देख्छन्, सत्ता पक्षकै सांसद झपट रावल पनि । उनीहरूलाई नेपाल भिœयाएर व्यवस्थित ढंगले राख्नुपर्ने र जाँच गरिनुपर्ने उनी बताउँछन् । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि ट्विटरमार्फत सिमानामा अलपत्र पार्नु अमानवीय र गैरजिम्मेवारी भएको जिकिर गरेका छन् । ‘विदेशमा रहेका लाखौँलाख नेपालीलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन व्यावहारिक रूपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु भन्ने हुन सक्दैन,’ उनको भनाइ थियो ।

सत्ता र विपक्ष दुवैतर्फका सांसदले सिमानाको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत सरकारको विरोध गरिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ट्विटरमार्फत नेपालीलाई सिमानामा अलपत्र पारिएको विषयमा असन्तुष्टि पोखेका छन् । 

भारतबाट फर्कनेको भिडसँगै थिए संक्रमित

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार पुगेको छ । शनिबार थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यसअघि गत साता दुबईबाट फर्केका धनगढीका एकजनामा कोरोना संक्रमण देखिएको थियो । विदेशबाट संक्रमित भएर आएकाबाट अन्यमा सरेको पहिलो केस पनि यहीँ देखिएको छ ।

संक्रमण देखिएका तीनजनामध्ये दुईजना भारतबाट फर्केका हुन् । उनीहरू लकडाउनकै समयमा भारतबाट स्वदेश फर्किने सयौँको भिडमा लामो समय नाकामा थुनिएको खुलेको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय संक्रमित युवा १२ चैतमा भारतबाट घर फर्किरहेका अन्य एक हजारजनासँगै झन्डै २४ घन्टा धनगढीको त्रिनगर नाकामा रोकिएका थिए ।

लकडाउनको समयमा ११ चैतको बेलुकीबाट त्रिनगर नाकामा पुगेकालाई प्रहरीले दोस्रो दिन रातिसम्म नाकामा रोकेर राखेको थियो । स्थानीय प्रशासनले बसको व्यवस्था गरेर सीमामा रोकिएका ती युवासँगै अन्य नौ सय ९९ जनालाई १२ चैतको राति गन्तव्यमा पठाएको थियो । संक्रमित युवा भारतबाट फर्केका लम्की क्षेत्रका अन्य स्थानीयसँगै १२ चैतको राति १० बजे बस चढेर गन्तव्य पुगेका थिए ।

स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै नाकामा रोकिएकाहरूले १२ चैतको बिहान त्रिनगर नाकामा नाराबाजीसमेत गरेका थिए । उनीहरूले ढुंगामुडा प्रहार गर्न थालेपछि रोक्न प्रहरीले बल प्रयोग गर्नुपरेको थियो भने केही भाग्दै मोहना नदी तरेर धनगढी पुगेका थिए । सोही भिडमा ती संक्रमित युवा पनि थिए । उक्त दिन नाकामा रोकिएका कैलालीका दुई सय ९१ जनामध्ये लम्की, टीकापुर क्षेत्रकालाई चारवटा बसमा राखेर पुऱ्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । 

संक्रमित युवा चढेको बसका अन्य यात्रुको पनि पहिचान गरेर खोजी थालिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । प्रहरीका अनुसार फर्केको दिन राति घर गएका ती युवा दोस्रो दिन बिहानबाट स्थानीय सरस्वती माविमा बनाइएको क्वारेन्टाइनमा अन्य ४४ जनासँगै बसेका थिए । मुम्बईबाट नाकासम्म र नाकाबाट घरसम्म उनीसँग सम्पर्क भएर फर्किएका व्यक्ति तथा उनको सम्पर्कमा आएका परिवारका सदस्यको पहिचान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै संक्रमण भेटिएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय एक व्यक्ति पनि समूहमै स्वदेश फर्किएको खुलेको छ । कोरोना संक्रमण फैलिन नदिन भारतमा २१ दिन लामो लकडाउनले कामकाज बन्द भएपछि उनीसँगै ११ जना नेपाल फर्किएका प्रहरीले जनाएको छ । उनी एक महिनाअघि मात्रै भारतको उत्तराञ्चल प्रदेशको चम्पावतमा मजदुरी गर्न गएका थिए ।

लकडाउनकै समयमा सीमा बन्द भएकाले उनीहरू अवैध रूपमा नेपाल भित्रिने क्रममा समातिएका थिए । सशस्त्र प्रहरीको टोलीले भीमदत्त नगरपालिका– ९, ब्रह्मदेव क्षेत्रबाट उनीसँगै ११ जनालाई नियन्त्रणमा लिएर वेदकोट नगरपालिका– ९ सुन्दरपुर कृषि भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा राखेको थियो ।

लकडाउन तोड्दै नेपाल प्रवेश गरेका ११ जनालाई सीधै क्वारेन्टाइनमा लगिएको सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले बताए । संक्रमितसहितका ११ जनालाई पक्राउ गरेर ल्याउने सशस्त्र प्रहरीको समेत स्वास्थ्य परीक्षण गरिने प्रहरी उपरीक्षक साहुले बताए । सुन्दरपुर कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा संक्रमितसँगै आएका ११ सहित १३ जना बस्दै आएका थिए । घर फर्कने क्रममा उनी थुप्रैको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

स्थानीयमा सरेको पहिलो केस

दुबईबाट फर्किएका धनगढी उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय युवाका परिवारका एक सदस्यमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितबाट परिवारका सदस्यमा संक्रमण भेटिएको नेपालमा यो पहिलो घटना हो । 

१३ चैतमा ती युवामा संक्रमण भेटिएकोले संक्रमित युवाको सम्पर्कमा आएका नौ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । तर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै उनीहरूलाई होम क्वारेन्टाइनमा बस्ने गरी दुई दिनपछि घर पठाइएको थियो ।

 कुनै लक्षण नदेखिएकोले जाँच गर्न नमिल्ने भन्दै उनीहरूको कसैको पनि नमुना संकलन गरिएको थिएन । तर परिवारका सदस्यको पनि नमुना जाँच हुनुपर्ने माग उठेपछि गत बुधबार उनीहरूको नमुना संकलन गरेर काठमाडौँ पठाइएको थियो ।

तीनै जना नयाँ संक्रमितलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । दुबइबाट फर्किएका संक्रमित युवाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उनीसहित चारैजनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

भारतीय सिमानाबाट डेढ लाख भित्रिए, २३ सय मात्र क्वारेन्टाइनमा

सुदूरपश्चिममा भारतबाट फर्केको ठूलो संख्या क्वारेन्टाइनमा छैन । २३ फागुनदेखि ८ चैतसम्म सुदूरपश्चिमका विभिन्न नाकाबाट एक लाख ४३ हजार तीन सयजना भित्रिएको प्रदेश सरकारको तथ्यांक छ । अझ, ८ चैतपछि पनि पाँच हजार भित्रिएका छन् । तर, हालसम्म प्रदेशभर दुई हजार तीन सय १५ जना मात्र क्वारेन्टाइनमा रहेको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिएका छन् । यसरी सुदूरपश्चिममा संक्रमणको उच्च जोखिम देखिएको छ ।

कोरोना नियन्त्रण गर्न सीमानाकाहरूमा हेल्थ डेस्क स्थापना गरिएका थिए । तर, ज्वरो नापिएका आधारमै सबैलाई घर जान दिइएको थियो । अहिले प्रदेशमा करिब डेढ सयको मात्र नमुना संकलन भएको छ । 

तीनजना संक्रमित भेटिएपछि सरकारले लकडाउन अवधिमा भारत र अन्य देशबाट हालै फर्केका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । यसको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूलाई निर्देशन गरिएको मन्त्री कृष्णराज सुवेदीले बताए । 

सुदूरपश्चिम प्रदेशले कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि औषधि उपकरण, स्वास्थ्य सामग्री, विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन गर्न संघीय सरकारसँग माग गरेको छ । कोरोना संक्रमितको उपचारका लागि प्रदेशमातहतका प्रादेशिक अस्पताल र जिल्ला अस्पतालहरूमा चिकित्सकसहितको मेडिकल स्वास्थ्य टिम निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ ।  नयाँ पत्रिका दैनिकमा तेजराज भट्ट, मोहन विष्ट र पदम बडालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्