काठमाडाैं : नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरण सुरू गर्ने भएको छ।
नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरणको काम सुरू गर्ने जानकारी गराएको हो।
संस्थानका लागि बागमती अञ्चल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहीबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आइपुगेको जानकारी दिए।
शुक्रबारसम्म मुस्ताङबाट १ हजार वटा च्याङग्रा काठमाडौं ल्याउने योजना बनाइएको छ भने हेटौँडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने संस्थानको योजना छ। शुक्रबार बिहान ८ बजेदेखि खसी, बोका र च्याङग्रा बिक्री वितरण हुनेछ।
सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ। संस्थानका बागमती अञ्चल कार्यालयका प्रमुख विष्टले बजारको भन्दा सस्तो मूल्यमा मासुको बिक्री वितरण हुने बताए।
बिहीबार बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुने पनि स्पष्ट पारेको छ। संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्रि वितरण गर्ने गरेको छ।
यस वर्ष बाटो अप्ठ्यारो भएका कारण मुस्ताङबाट च्याङग्रा ल्याउन कठिनाइ भइरहेको पनि संस्थानले जनाएको छ।