कोरोना भाइरसको संक्रमणसंगै कालोबजारी रोक्न प्रभु साहको माग



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणसंगै कालोबजारी रोक्न सरकारसंग माग गरेका छन् ।

पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष साहले कोरोना भाइरसको संक्रमणको सन्त्रास तथा लकडाउनको संवेदनशील एवं संकटपूर्ण समयमा केही दलाल व्यापारीले कालोबजारी गरिरहेको भन्दै त्यस्तालाई कारवाही गर्नुपर्ने माग गरेका हुन् ।

‘विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस संक्रमणको सन्त्रास तथा देश लकडाउनको संवेदनशील एवं संकटपूर्ण समयमा केहि दलाल व्यापारीहरुले मुख्यतः दैनिक उपभोग्य समानहरुको कृतिम अभाव, मिसावट तथा अत्यधिक मूल्यवृद्धि जन्य कालोबजारी गरी सर्वसाधारण उपभोक्तालाई लुट्ने काम गरिरहेको छ भने, केहि बेईमान तथा भ्रष्ट ओहदारपदवाला व्यक्तिहरु (जनप्रतिनिधि र कर्मचारी) मिली कोरोनाको नाममा करोडौको ब्रह्मलुट मच्चाई रहेको छ’ समाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा साहले आज लेखेका छन् ।

कोरोना भाइरसको संत्रासका बीचमा दलाल प्रवृतिका व्यापारीहरुले अभाव, मिसावट तथा अत्यधिक मूल्यबृद्धि गदै सर्वसधारण उपभोक्तालाई लुटिरहेको आरोप उनले लगाएका छन् । कोरोना भाइरसकै नाममा केही जनप्रतिनिधि र कर्मचारीले समेत मिलेर राज्यको करोडौं रकम बह्मलुट मचाईरहेकाले कानून अनुसार कारवाही गर्दै सर्वसधारण जनतालाई राहत दिनुपर्ने माग उनले गरेका छन् ।

सरकारले लागु गरेको लकडाउन तथा कोरोना भाइरसको संत्रासका कारण सर्वधारण गरिव, मजदुर लगायतका बर्ग बढी पीडित भएको बताउँदै साहले त्यस्ता समुदाय एवं वर्गलाई तत्काल राहतको व्यवस्था सरकारले गर्नुपर्ने सुझाव दिएका छन् ।

अमानवीय तथा अपराधिक विषयवस्तुप्रति गम्भीर ध्यानाकर्षण गराउदै तत्काल नियन्त्रणका लागी सरकारसंग उनले माग गरेका छन् । अहिलेको यस अवस्थामा सबैले मिलेर अगाडी बढनुपर्ने आवश्यक्ता रहेको बताउँदै उनले भ्रष्टाचार एवं कालोबजारी गर्नेलाई कारवाही गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्