कर्णाली र सुदूरपश्चिम आउजाउमा रोक : पुल र डुंगा बन्द, नाकामा सुरक्षाकर्मी



काठमाडौं : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आउजाउ बन्द गरिएको छ । कर्णाली प्रदेशका सुदूरपश्चिमसँग जोडिने सबै नाकाहरु बन्द गरिएको हो ।

आइतबार सुदूरपश्चिमसँग जोडिने माध्यमहरु पुल, डुंगा बन्द गरिएको छ भने नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुदूरपश्चिमको कैलाली जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएपछि कर्णाली प्रदेशले संक्रमणबाट बच्न उक्त उपाय अपनाएको हो । छिमेकी जिल्लामा कोरोना देखिएपछि कर्णालीमा त्रास फैलिएको छ ।

सुदूरपश्चिमसँग जोडिएका कर्णालीका सुर्खेत, दैलेख र कालिकोटका सिमा नाका बन्द भएका छन्। सुदूरपश्चिममा संक्रमण देखिएको र कर्णालीमा पनि भित्रिने सम्भावना बढेको भन्दै नाका नै बन्द गरिएको स्थानीय तहले जनाएका छन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने कर्णाली नदीमा रहेका पक्की पुल, झोलुङ्गे पुल र तुइन बन्द गरिएका हुन्। यस्तै नदीमा डुंगा संचालनमा पनि प्रतिबन्ध लगाइएको छ। मानिसको आवतजावत रोक्न नाकामा सुरक्षाकर्मी पनि खटाइएको छ।

सुदूरपश्चिमका कैलाली र अछामसँग सिमाना जोडिएका सुर्खेतका स्थानीय तहले नाका बन्द गरेका छन्। कैलालीसँग जोडिएको सुर्खेतको चौकुने गाउँपालिकाले सबै नाका बन्द गरेको छ।

यस्तै, सुदूरपश्चिमसँगै जोडिएका दैलेखका पक्की पुल र झोलुङ्गे पुल पनि बन्द गरिएका छन्। जिल्लाका दुल्लु, चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिका तथा ठाँठीकाँध गाउँपालिकाका सिमाना अछामसँग जोडिएका छन्।

अछामसँग जोडिएका जिल्लाका १० वटै नाका बन्द गरिएका हुन्। अछाम र दैलेखलाई जोड्ने कर्णाली नदीमा एउटा पक्की पुल र नौ वटा झोलुङ्गे पुल छन्।

यस्तै, सुदूरपश्चिमको अछाम र बाजुरासँग जोडिएको कालिकोटमा पनि उच्च सतर्कता अपनाइएको छ। कालिकोटको नरहरीनाथ गाउँपालिका अछामसँग जोडिएको छ भने पलाता र पचालझरना गाउँपालिका बाजुरासँग सिमा जोडिएका छन्।

प्रतिक्रिया दिनुहोस्