कोरोना विपतको राहत बुझ्नेको घरबाट २५ लाख नगद फेला



बिर्तामोड : झापामा कोरोना विपतको राहत बुझ्नेकै घरबाट २५ लाख रुपैयाँ नगद फेला परेको छ । जिल्लाको कनकाई नगरपालिका–४ सुरुङ्गास्थित सुकुम्बासी बस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घरबाट २५ लाख रुपैयाँ नगद फेला परेको हो ।

शनिबार साँझ राईको घर आगलागी हुँदा उनको घरबाट नौ लाख र ५ सय दरका नोट र ६ लाखजति जलेका तर नम्बर भएकाले बैंकमा साट्न मिल्ने दरका नोट फेला परेको हो ।

कनकाई सामुदायिक वन क्षेत्रहाताभित्र रहेको घरमा आगलागी हुँदा राईसहित अन्य दुई घर अमृता श्रेष्ठ र झकडबहादुर दर्जी समेतको घर जलेको थियो ।

राईका अनुसार घरमा २४ लाख ५० हजारभन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको थियो । प्रहरी, रेडक्रसकर्मी, सामुदायिक वनका पदाधिकारी लगायतले सो रकम र १८ तोला चाँदी फेला पारेका थिए ।

हाल सो रकम इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । प्रहरीले रकमको स्रोत खोज्ने काम गरिरहेको जनाएको छ । तर, राईले शुक्रबार मात्रै कनकाई नगरपालिका ४ नम्बर वार्ड कार्यालयबाट कोरोना विपतको राहत बुझेर ल्याएका थिए भने उनले बुझेर ल्याएको राहत समेत जलेको थियो ।

राई लगायातको घरको आगो दकम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवाशी मिलेर नियन्त्रणमा लिइएको थियो भने जनप्रतिनिधि, प्रहरी र रेडक्रसकर्मीलाई राईको घरमा फेला परेको पैसा गन्न समेत ३ घण्टा लागेको थियो ।

प्रहरीका अनुसार राईले आफूले सो रकम आफ्नो जग्गा विक्रीबाट १२ लाख र त्यही रकमलाई गाउँमा ब्याजमा लगाएर जम्मा गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्