लकडाउनमा ‘लक भएको मन, प्रिय मन !’



प्रेम र माया शब्द आफैँमा एक सिक्काका दुई पाटा हुन् । प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । त्यसको जमर्को म गर्दिन पनि । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ ।

तर यो भनिरहँदा माया के हो त त्यसो भए ? माया पनि प्रेम सरह अदृश्य शक्ति हो । माया देखिने कुरा होइन । यो त मनले महसुस गर्ने कुरा हो । आखिर माया सबैमा हुन्छ तर दर्साउने शैली फरक–फरक हुन्छ । मायालाई हेर्न सकिँदैन, रोक्न सकिँदैन, छेक्न सकिँदैन । हृदयमा आफसे आफ उत्पन्न हुने चिज हो यो, जसलाई खोजेर भेटिँदैन । राम्रो लाग्यो भन्दैमा समात्न पनि मिल्दैन । शरीरको एक–एक धमनीमा रगतसरि बगिरहन्छ । पूरै मन मस्तिष्कमा, हातखुट्टा, टाउको अनि रसिला ती आँखामा सबैतिर मायाले ठाउँ ओगटेको हुन्छ । माया अपवाद हो । माया बिल्कुल फरक केहीसँग नमिल्ने पूर्णविराम हो । प्रश्न चिन्ह हो, माया । अल्पविराम बनी वाक्यलाई निरन्तरता दिने अर्थहीन शब्द पनि हो, माया ।

प्रिय मन,
मिठो सम्झना ..!

मलाई थाहा छ, त निकै चुल्बुले छस् । कसैको सुन्दर अनुहार हेरिसकेपछि, त आफुलाई आवश्यक्ता भन्दा बढि भावनात्मक बनाउँछस् । सायद त्यसैको प्रतिउत्तर हो ‘लक भएको मन !’
जसरी जसरी समय बित्दै जान्छ त्यसरी त्यसरी मनको चाहना र धैर्यता प्रस्फुटन हुँदै जाँदो रहेछ । यो समयसंगै उमेरको खेल पनि हो भन्ने लाग्छ । भनिन्छ नि जिवनमा पढेको भन्दा परेकोमा थुप्रै कुरा सिकिन्छ ।’ हो मैले पनि थुप्रै कुरा सिके यो १३ औँ दिनसम्मको लकडाउनमा । प्रिय मन, मलाई थाहा छ तेरो चुल्बुल–चुल्बुलले कुनै दिन नमिठ्ठो घटना घटाउन सक्छ ! त्यसैले पनि तलाई अहिले नै सतर्क बनाउन यो चिठ्ठि लेखेको हुँ । यो उमेरमा थुप्रै खालका भावनाहरूले तेरो मन र मस्तिष्कमा डेरा बसाएको हुनसक्छन् । यो उमेरमा यस्तो हुनु स्वाभाविक पनि हो तर विडम्बना यहाँ माया गल्लिको किराना पसलमा बेचिन्छ । फेसबुकको प्रोफाइल पिक्चरमा बेचिन्छ ।

म्यासेन्जरको गफमा समेटिन्छ । टिकटकको भिडियोमा अड्किन्छ । त्यसैले मायाको त्यो जालझेलमा नपर्नु तँ ? यसले जति तँलाई तताउँछ त्यतिनै यसको सामिप्यतामा जोडिएका क्षणहरुले सताउँछ । मायामा तारा टिपेर ल्याउने कुरा तैले अस्ति भर्खर मात्र मलाई भनेको थिइस् म अचम्मित छु तेरो त्यो बहकाव अब्तरमनले त्यस्तो कुरो कसरी सोच्यो भनेर ! कसैप्रति माया जाग्नु स्वभाविक हो तर त्यसलाई पूर्णता दिनका निम्ति कसैको मन बिच साट्टिनु तेरो ठुलो भुल हुनेछ ।

यहाँ सम्बन्ध केहि समयको बन्धन मात्र हो । इच्छा , चाहना, विश्वास तथा रिस, राग , घमण्डले तेरो त्यो मायाको परिभाषा फरक तुल्याउने छ । यहाँ साँचो माया पाइँदैन । यो संसारमा सबैभन्दा ठूलो कुरो हो तैँले आफैँले आफैँलाई माया गर्नु हो । यहाँ तेरो समस्या देखेर तलाई सहानुभूति दिने कोहि हुन्न । यो स्वार्थी संसारमा सबैभन्दा अच्चमको कुरो हो मानिस तेरो दुःखमा रमाउँछन् । त्यसैले मैले तलाई भनेको हुँ, यहाँ सम्बन्ध अपवाद हो ।

मलाई विश्वास छ आज लेखिएको यो शब्दहरुमा त्यत्ति धेरै तागत त छैन ! बस सन्देह गर यसको भाव प्रति ? सन्देह गर प्रेममा , मायामा ? अन्ततः यहाँको जालि मायामा आफ्ना अन्तरमनहरुको बहाब नबढाउनु , इच्छा, चाहना, विश्वास कायमै राख्नु मर्न नदिनु…!

उहि तेरो मन बोक्ने साथी
दिवाकर उप्रेती

प्रतिक्रिया दिनुहोस्