न्यूयोर्कको ब्रोन्स चिडियाखानाको बाघमा कोरोना ‘पोजिटिभ’



एजेन्सी : पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट ग्रसित बनेको अमेरिकाको एक चिनियाखानामा रहेको एक बाघमा पनि कोरोना ‘पोजिटिभ’ पुष्टि भएको पाइएको छ ।

कोरोनाबाट अति प्रभावित अमेरिकी सहर न्यूयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना ‘पोजिटिभ’ भएको पाइएको हो ।

आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोनाको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ ।

चिडियाखानाले आइतबार विज्ञप्ति जारी गर्दै चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको जनाएको छ ।

‘हामीले अति सावधानीपूर्वक बाघको परीक्षण गरेका छौं र कोभिड–१९ बारे प्राप्त यो ज्ञान नोवल कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं,’विज्ञप्तिमा भनिएको छ ।

भाइरस संक्रमणका कारण बाघको आहार घटेकोे छ । तर, चिडियाखानाका अन्य ठूला जनावरमा भने भाइरसको कुनै लक्षण नदेखिएको विज्ञप्तिमा लेखिएको छ ।

न्यूयोर्कमा कोरोना संक्रमण फैलिएसँगै वन्यजन्तु संरक्षण समाजद्वारा सञ्चालित ब्रोन्ससहति चारवटै चिडियाखाना मार्च १६ बाट बन्द छन् । मानिसबाट जनावरमा कोरोना संक्रमण फैलिएकाले जनावरको संरक्षणका लागि थप कदम चालिने चिडियाखानाले बताएको छ ।

यता कोरोनाबाट अमेरिका पछिल्लो समय निकै प्रभावित भएको छ । अमेरिकामा अहिलेसम्म ३ लाख ३६ हजार ६ सय ७३ जना कोरोनाबाट संक्रमित भएका छन् भने ९ हजार ६ सय १६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । साथै १ लाख ७ हजार ९ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।

चीनबाट फैलिएको कोरोनाबाट अहिले विश्वको २ सय ८ देश ग्रसित बनेको छ ।

विश्वमा १२ लाख ७३ हजार ४ सय ९९ जना कोरोना संक्रमित भएका छन् भने ६९ हजार ४ सय ५१ जनाको मृत्यु भइसकेको छ । साथै २ लाख ६२ हजार ३ सय ५१ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्