तीस हजार भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा



भद्रपुर : कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन् तर बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था आएको छ । “बोटमा फल पाकेर पहेँलै भइसके, सारा बजार बन्द छ अब कहाँ लगेर बेच्नु ?”, फार्मका सञ्चालक मनोज सिंह चिन्तित हुँदै भन्छन ।

स्थानीय बोलीचालीमा अनारस भनिने भुइँकटहर स्वास्थ्य र स्वाद दुवै दृष्टिले राम्रो मानिन्छ । तीन बिघा लिजको समेत पाँच बिघा जग्गामा सिंहले विगत चार वर्षदेखि भुइँकटहरको व्यावसायिक खेती गर्दै आएका छन । फार्ममा उत्पादित भुइँकटहर यसअघि काठमाडौँको कालीमाटी तरकारी बजारमा लगेर बिक्री गरिँदै आएको थियो । अहिले लकडाउनका कारण कालीमाटी बजार बन्द हुनु र अन्यत्रसमेत बिक्री नभएपछि ठूलो लगानीमा गरिएको उत्पादन कुहिएर बोटमै खेर जाने अवस्था आएको सञ्चालक सिंहले बताए ।

हाल उनको खेतीमा ८० हजार बोटमा फल लागेको छ भने ३० हजार फल पाकिसकेका छन् । बाँकी ५० हजार बोटमा जेठमा पाक्ने गरी चिचिला हुर्किरहेका छन् । चैत वैशाखमा रसिलो र गुलियो भुइँकटहरले बजारमा राम्रो भाउ पाउने गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गरिएको लकडाउनले बजार ठप्प भएका छन् ।

सिंहले भुइँकटहर खेतीका लागि राष्ट्रिय वाणिज्य बैंकबाट रु १८ लाख र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट रु पाँच लाख कर्जा लिएको बताए । “उत्पादन बजारमा बिक्री गर्ने ‘पिक सिजन’मा लकडाउनले चौपट ग¥यो, यसपाली भुइँकटहर खेतीमा रु २२ लाख जति घाटा होला जस्तो छ”, उनी भन्छन । यस वर्षको चैत वैशाखमा भुइँकटहर प्रतिगोटा स्थानीय बजारमा रु ५० देखि रु ६० सम्म र काठमाडौँमा रु ७० सम्ममा बिक्री हुने उनको अपेक्षा थियो । तर अहिले फार्ममा आउने जोकोहीलाई उनले ठूलो घाटा सहेर प्रति गोटा रु २५ मै बिक्री गरिरहेको जानकारी दिए । फार्ममै आएर फाट्टफुट्ट किन्ने थोरै रहेका छन् ।

लकडाउनले पु¥याएको क्षतिबारेमा गुनासो सुनाउने र मर्म बुझिदिने कुनै निकाय नपाएको उनको गुनासो छ । “भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई समस्या सुनाएको थिएँ”, फार्म सञ्चालक सिंहले भने, “उनले काठमाडौँ लैजाने भए गाडीको पास बनाइदिन्छु भनेका छन ।” कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि हाल झापामा दर्जनौँ स्थानमा क्वारेन्टाइन स्थापना गरिएका छन् । राहत सामग्रीको रूपमा चामल र दाल वितरण कार्य भइरहेको छ । फार्म सञ्चालक सिंहले क्वारेन्टाइनमा बस्नेहरुका लागि र राहत बाँड्नका लागि भुइँकटहर किनिदिने व्यवस्था हुने हो भने आफूले ठूलो राहत पाउने अपेक्षा राखेका छन । भुइँकटहर रोग प्रतिरोधी क्षमता बढाउने फल भएको हुँदा यसको सेवन स्वास्थ्यवर्धक हुने उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्