सुदूरप्रदेशमा संक्रमित बढेकाले लकडाउन थप सशक्त हुनेछ : मुख्यमन्त्री भट्ट



काठमाडाैं : नेपालमा पुष्टि भएका कोभिड–१९ का नौ संक्रमितमध्ये चार सुदूरपश्चिम प्रदेशका छन् । शनिवबार एकसाथ सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भएको पुष्टि भएपछि रोगको रोकथाम र निगरानीमा चुनौती थपिएको छ । अहिलेसम्म विदेशवाट स्वदेश फर्किएकामा यो रोगको संक्रमण भएको देखिएकामा फर्किएका संक्रमित व्यक्तिमार्फत धनगढीका ३४ वर्षीया एक महिलामा यो रोग सरेको देखिएको छ । संक्रमित व्यक्तिमार्फत स्थानीयवासीमा कोरोना सरेको घटना यो नेपालमा पहिलो भएको चिकित्सकले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा संक्रमित बढ्दै गइरहेका बेला कोरोना संक्रमण फैलिन नदिन प्रदेश सरकारले केकस्ता रणनीति अपनाएको छ, तयारी कस्तो छ भन्नेलगायत समसामायिक विषयमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँंग राससका लागि रासस सुदूरपश्चिम प्रदेशप्रमुख सिद्धराज भट्ट र प्रकाश मिश्रले आइतबार गरेको कुराकानीका अंशः

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण फैलिन नदिन प्रदेश सरकार केकस्तो रणनीति अपनाएर अघि बढिरहेको छ ?

कोरोना संक्रमण फैलिन नदिनका लागि प्रदेश सरकारले आफ्नो क्षमताअनुसारको तयारी गरिरहेको छ । यो भनेको क्वारेन्टाइन बनाउने र त्यहाँ मानिसलाई राख्ने, जाँच गर्ने कुरा हुन् । संक्रमितको उपचारको व्यवस्था मिलाउने कुरामा प्रदेश सरकार लागिपरेको छ । त्यसका साथै हामीले प्रदेशमा उपलब्ध नौ वटै अस्पतालमा उपचारको व्यवस्था मिलाउने तयारी थालेका छौंँ । हामीले अब थप पन्ध्र वटा भेन्टिलेटर स्थापना गर्ने निर्णय पनि गरेका छौंँ । जनतामा विश्वास कायम रहिरहने गरी हामी काम गरिरहेका छाैँ ।

केही दिनअघिसम्मको तथ्यांकमा भारतबाट सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर नेपाल प्रवेश गरेका एक लाख ३४ हजारभन्दा बढी नेपालीमध्ये झण्डै दुई हजार पाँच सय मात्र हाल क्वारेन्टाइनमा बसेका छन् भन्ने छ, भित्रिने अरु व्यक्तिलाई क्वारेन्टाइनमा बस्ने व्यवस्थापन किन हुन सकेन ? यसबाट कत्तिको जोखिम हुन्छ ?

हामीले भारतबाट आउनेहरुलाई सिमानामा प्रारम्भिक जाँचपछि मात्र प्रवेश दिएको र उनीहरुको तथ्याङ्क राखेको अवस्था हो । यहाँबाट प्रारम्भिक जाँच भइसकेपछि उनीहरु कहाँ गए, के गरिरहेका छन् भन्ने सूचना र जानकारी स्थानीय तहमार्फत प्रदेश सरकारले राखेको छ ।

शनिबार मात्र पोजेटिभ संक्रमण देखिएकाहरु क्वारेन्टाइनमै बसेका थिए । थप अरु व्यक्तिलाई पनि समस्या देखिए तुरुन्त उद्धार र उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउने गरी काम गरिरहेको अवस्था हो । अब सवैलाई क्वारेन्टाइनमा राखेर सकिने अवस्था पनि नरहेका कारण होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । उनीहरु होम क्वारेन्टाइनमा बसेको नबसेको भनेर प्रदेश सरकारले निगरानी गरिरहेको छ ।

कोरोनाको रोकथाम र निगरानीका लागि प्रदेशमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अवस्था के छ ? निजी मेडिकलहरुसंँग समन्वय कत्तिको गर्नुभएको छ ? सामान्य बिरामी भएको व्यक्तिले पनि यति बेला सहज रुपमा उपचार नपाएको भन्ने गुनासो आउन थालेको छ नि ?

प्रदेशमा आवश्यक स्वास्थ्य सामग्री केही दिनका लागि पुग्ने भए पनि लामो समयका लागि पर्याप्त नभएको अवस्था त हो तर आत्तिहाल्नुपर्दैन किनभने केन्द्र सरकारले पनि थप केही स्वास्थ्य सामग्री ल्याइरहेको र प्रदेश सरकार आफैँले पनि तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरीदका लागि बोलपत्र आह्वान गरिसकेको छ । हामीले केन्द्र सरकारलाई सुदूरपश्चिममा चार जना संक्रमित देखिसकेको हुनाले यस प्रदेशलाई केन्द्र बनाएर आवश्यक सामग्री र चिकित्सकको टोली पठाउनुपर्ने कुरा भनिसकेका छौंँ ।

हामीले निजी मेडिकलहरुलाई भनिसकेका छाैँ, कुनै पनि जनताले औषधि उपचार पाएनाैँ भनेर आउने स्थिति नदेखियोस् । यदि त्यस्तो अवस्था आइहाल्यो भने हामी कडा कारवाही गर्न बाध्य हुनेछौंँ । निजी मेडिकल सञ्चालकहरुले पनि यस संकटको बेला स्वास्थ्य सेवा दिने काममा पछि नहट्ने प्रतिबद्धता गरेका छन ।

कोराना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरु सुरक्षाको पहिलो घेरामा हुन्छन्, उहाँहरुले प्रयोग गर्ने उपकरणलगायत स्वास्थ्य सामग्री प्रदेशमा पर्याप्त छन् ?

हामीसँंग केही दिनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री छन् तर पर्याप्त छैनन् । यो संकट निश्चित भूगोल र देशमा मात्र निम्तिएको होइन । तसर्थ सचेत हुँदै प्रदेश सरकार लागिरहेको छ । अहिले हामीसँंग सामान्यरुपमा आवश्यक पर्ने ह्याण्ड स्यानिटाइजर, पिपिई ,सर्जिकल मास्क लगायतका अति आवश्यक स्वास्थ्य सामग्रीको पर्याप्तता धेरै छैन तर हुँदै नभएको पनि हैन ।

जारी लकडाउनको समय लम्बिँदा खाद्यान्नलगायत तरकारी ढुवानीमा समस्या आइरहेको भन्ने जनगुनासो बढेको छ । यसले गर्दा मानिसले पैसा भएर पनि सहज रुपमा खाद्यान्न किन्न पाइरहेका छैनन् । या समस्या समाधानका लागि केकस्तो प्रयासमा हुनुहुन्छ ?

तपाईँले भनेको एउटा कुरामा म असहमति जनाउँछु । मानिसले पैसा भएर पनि नियमित किन्ने ठाउँबाट किन्न नपाएका हुन् तर किन्न नै नपाएका भने होइनन् । खाद्यान्न,तरकारी तथा फलफूलको ढुवानी सुदूरपश्चिम प्रदेशमा पर्याप्त रहेको र ढुवानीमा समस्या नभएको स्पष्ट पार्छु । अर्को कुरो, यस संवेदनशील अवस्थामा औषधि, खाद्यान्न,तरकारी, फलफूललगायत अति आवश्यक सामग्री खरीदको नाममा भिडभाड गर्ने र लकडाउनको पालना नगर्नेलाई भने कारवाही गरिनेछ ।

लकडाउनको प्रभावकारी कार्यान्वयनमा समस्या आइरहेको भन्ने एकथरीको भनाइ छ, थप व्यवस्थित बनाउन प्रदेश सरकारको भूमिका के हुन्छ ?

लकडाउनको शुरुआती समयमा केही खुकुलो भए पनि हाल कडाइका साथ अघि बढेको छ । सुदूरपश्चिमभरि लकडाउनको उल्लंघन गर्ने सयौंँ सवारीसाधन कारवाहीमा परेका छन् । अब प्रदेशमा संक्रमित बढेको अवस्थामा लकडाउन थप सशक्त हुनेछ ।

लकडाउनका समयमा कतियय ठाउँमा कालोबजारी बढेको भन्ने जनगुनासो पनि सुनिन थालेको छ । कालोबजारी रोक्न प्रदेश सरकारले के गरिरहेको छ ?

संकटको बेला कसैले कसैलाई समस्यामा पार्नुहुँदैन र महामारीको गलत फाइदा कसैले पनि लिनु हुँदैन भन्ने कुराको चेतना हुँदाहुँदै पनि यस किसिमको गलत काम गर्नेहरुमाथि प्रदेश सरकार कडारुपमा प्रस्तुत हुनेछ । यदि कसैले महामारीको बेला कालोबजारी गरेको पाइए प्रचलित कानूनअनुसार हदैसम्मको कारवाही हामी गर्नेछौंँ । यसका लागि हामीले अनुगमन टिम पनि बनाएका छाैँ । अनुगमनका क्रममा कालोबजारी गरेको पाइएमा वा उपभोक्ताको गुनासो आए हामी सम्बन्धितलाई कारवाही गर्नेछाैँ ।

अहिले अव्यवस्थित र रुपमा भीड जम्मा गरेर राहत वितरण भइरहेको छ, यसले गर्दा कोरोनाको संक्रमण अझै बढ्ने चिन्ता स्वास्थ्यकर्मीले गरिरहेका छन् । यसलाई कसरी व्यवस्थित गर्नुहुन्छ ?

हेर्नुस्, मानिसहरु सामान्य समय जस्तै जसरी राहत वितरण गर्ने तस्वीर लिने अनि प्रचार गर्ने काममा लागेका छन् । यसो गर्दा जोखिम बढ्ने सम्भावना निकै बढी हुन्छ । त्यसैले हामीले आइतबारदेखि अव्यवस्थित रुपमा विभिन्न नाममा वितरण गरिँदै आएका राहत वितरणमा रोक लगाएका छांैँ । मानिसहरुले संवेदनशीलतालाई बुझिदिनुप¥यो । यदि कसैलाई सहयोग गर्ने इच्छा चाहना भए देशमा तीन तहका सरकार छन् । कुनै पनि सरकारसँंग समन्वय गरेर वितरण गर्न सकिने छ । हैन भने कुनै सामाजिक दूरी कायम नगरी भीडभाड गरेर राहत वितरण गर्न पाइने छैन ।

संक्रमण फैलिन नदिनका लागि सरकारले संक्रमितको कन्टयाक ट्रयाकिङ गर्ने कुरामा सरकार असफल भएका कारण समस्या देखिएको भन्ने जनगुनासो छ नि ?

त्यस्तो हैन । हामीले धनगढीमा खासगरी दुवईबाट आएका व्यक्तिलाई संक्रमण देखिसकेपछि उहाँहरुको सम्पर्कमा आएका व्यक्तिलाइ ट्रयाकिङ गरेका छौँ । हामी यस विषयमा गम्भीर नै छाैँ । हामीले तेस्रो मुलुक मात्र हैन भारतबाट आएकालाई समेत ट्रयाकिङ गरेका छौँ । सरकारले केही गरेन, सरकार हरायो भन्नु भनेको विरोधका लागि विरोध मात्र हो । विरोध गर्नेहरु गरिहन्छन्, हामी आफ्नो काममा लागिरहन्छाैँ ।

अन्त्यमा, यस संकटको घडीमा प्रदेशका जनतालाई के भन्न चाहनुहुन्छ ?

सरकारले जुन लकडाउन गरेको छ त्यसलाई सफल बनाउन म पहिले सबैलाई आग्रह गर्न चाहन्छु । यो कसैले निम्ताइदिएको समस्या होइन र सामान्य अवस्था पनि होइन । त्यसैले गभ्भीरताका साथ लिइदिन हुन म हार्दिक अनुरोध गर्न चाहन्छु । अर्को कुरा, सुदूरपश्चिममा चार जना संक्रमित देखिइसकेपछि सबैले अझ बढी सतर्क रहन जरुरी छ । यदि परिवारका कोही सदस्य बाहिरबाट आएका छन् भने केही दिन टाढा नै बस्नु उपयुक्त हुन्छ । म सम्पूर्ण सुदूरपश्चिमवासी जनतालाई सुरक्षित भई होम क्वारेन्टाइनमा बसिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्