अलपत्र छ ज्यामरुककोटे राजाले पानी खाएको राजकुवा



म्याग्दी : बाइसेचौविसे राज्यको अन्त्य नहोउन्जेलसम्म पर्वत राज्य अन्तरगतको अत्यन्त महत्वपूर्ण र शक्तिशाली मानिने बेनी नगरपालिका वडा नं २ को ज्यामरुककोट आफ्नो ऐतिहासिक विरासतलाई गुमाउँदै गएपछि अहिले आएर अस्तित्व बिहीन बनेको छ ।

ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणलेसमेत अत्यन्त महत्वपूर्ण मानिएको ज्यामरुककोटले आफ्नो मौलिकता र पहिचान मात्र गुमाएको छैन, यहाँ रहेका ऐतिहासिक सम्पदाहरु पनि नामेट हुँदै जान थालेका छन् ।

सम्पन्न, विद्धान र राजनीतिक रुपले सक्रिय व्यक्तिहरुको बसोवास रहेको भएता पनि ज्यामरुककोटका ऐतिहासिक सम्पदाहरुको संरक्षण र समग्र ज्यामरुककोटको विकासका लागि कसैले केही पनि पहल नगर्दा ज्यूँदो जाग्दो ऐतिहासिक विरासत बोकेको ठाउँ बत्तिमुनिको अध्यारो बनेको स्थानीयहरुले बताउँछन् ।

तत्कालिन् राजा भर्तिवम मल्लले आफू र आफ्ना राज्यमा बसोवास गर्ने जनताको सुविधाका लागि बनाएको सात्लेपानीको कुवा १६ औं शताब्दीदेखिको एउटा जिउँदो लाग्दो ऐतिहासिक सम्पदा भएता पनि त्यसको संरक्षणमा समेत कसैको ध्यान नपुग्दा अहिले सो सम्पदा अन्य सम्पदा झैं इतिहासकै गर्भमा लोप भएर जाने अवस्थामा पुगेको छ ।

साविकको ज्यामरुककोट गाविस वडा नं ६ मा अवस्थित गाविस भवनकै तल्लोपट्टी बाटोको छेउमा नै रहेको सो कुवाको संरक्षणमा कसैले पनि चासो नदिदा अहिले पुरिने अवस्थामा रहेको स्थानीय राम किसानले जानकारी दिए ।

तत्कालिन् ज्यामरुके राजा भर्तिवम मल्लले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुईवटा अलगअलग कुवा बनाई एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंवदन्ती रहेको छ ।

 सो कुवा कहिले निर्माण भएको हो भन्ने विषयमा कुनै अभिलेख नरहेको भएता पनि ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवा पहिरोले पुरेपछि सात्लेपानीमा कुवा बनाएका स्थानीय बढापाकाहरुको भनाइ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्