एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’ सञ्चालन गरिने



वालिङ : स्मार्ट नगरका रूपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी आगामी बिहीबारबाट रेडियो टेलिभिजनमार्फत ‘विशेष कक्षा’ सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर महामारीको रूप लिइरहेको बेला एसइईको अन्तिम तयारीको अवस्थामा अकस्मात परीक्षा स्थगन भएपछि विद्यार्थीमा रहेको निराशा हटाई थप उत्साहित बनाउँदै पुनर्ताजगी बनाउने उद्देश्यले ‘विशेष कक्षा’ सञ्चालनको तयारी गरिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

“कोभिड–१९ का कारण तयारी पूरा हुँदाहुँदै पनि विद्यार्थीहरू एकान्तबासमा हुनुहुन्छ”, नगरप्रमुख खाँणले भने, “उनीहरुले सिकेको ज्ञान सीप कोभिड–१९ को महामारीसँगै एकान्तबासका कारण भुल्दै जाने अवस्था आउन सक्ने भएकाले पुनर्ताजगी प्रदान गर्नमा मद्दत गर्ने उद्देश्यले ‘विशेष कक्षा’ सञ्चालनको योजना बनाएका हौँ”, उनले भने ।

आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्दै अहिलेको विषम परिस्थितिमा सूचना प्रविधिको भरपूर सदुपयोग गरी रेडियो तथा टेलिभिजनबाट पढ्ने र पढाउने कार्य गर्न लागिएको नगरप्रमुख खाँणले बताए । “विश्वभर कोरोना भाइरसको महामारीका कारण एसइई परीक्षामा सहभागीमा हुन नपाएका वालिङ तथा छिमेकी पालिकाका विद्यार्थीलाई लक्षित गरी नगरपालिकाको सहयोगमा कार्यक्रम प्रसारण गर्नेछौँ” नगरप्रमुख खाँणले भने, “नगरपालिकामा रहेका विभिन्न विषयगत सङ्गठनका शिक्षक प्रतिनिधि र दुवै मिडिया सञ्चालकसँग छलफल गरी ‘विशेष कक्षा’ सञ्चालन गर्ने निचोडमा पुगेका हौँ ।”

कोभिड–१९ को महामारीले निराशा मात्रै हुने नभई एकान्तबासको अवधिमा वैकल्पिक उपायको खोजी गर्दै अगाडि बढ्ने क्रममा पहिलो पटक ‘विशेष कक्षा’ सञ्चालनको तयारी गरिएको नगरप्रमुख खाँणको भनाइ थियो । विशेषगरी अहिले अङ्ग्रेजी, गणित र विज्ञान विषयका विषयगत शिक्षकले स्टुडियोबाट पढाउने गरी व्यवस्था मिलाइएको पूर्णामृत भवानी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दीपक लम्सालले बताए ।

एकान्तबास अवधिमा बाहिर हिँड्न नपाइने र घरमै बसेर प्रविधिको प्रयोग गरेर शिक्षा आर्जन गर्न पाइने भएकाले पनि ‘विशेष कक्षा’ प्रभावकारी हुने सहायक प्रअ लम्सालले जिकिर गरे । आगामी बिहीबारबाट प्रत्येक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म एकघण्टा सामुदायिक रेडियो आँधीखोला र वालिङ टेलिभिजन एचडीबाट ‘विशेष कक्षा’ सञ्चालन थाल्ने वालिङ टेलिभिजनका व्यवस्थापक मणिप्रसाद अर्यालले बताए ।

“वालिङ नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको ‘विशेष कक्षा’ को पहिलो चरणमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकलाई स्टुडियोमा आलोपालो गरी ल्याउनेछौँ” व्यवस्थापक अर्यालले भने, “विद्यार्थीको मागका आधारमा दोस्रो चरणमा अन्य विषयलाई पनि क्रमशः जोड्दै जान सकिने छ ।” विद्यार्थीले आफूलाई जिज्ञासा लागेका प्रश्न कक्षा सञ्चालन हुनुपूर्व स्टुडियोमा टिपाउन वा प्रत्यक्षरूपमा शिक्षकलाई टिपाएर समस्याको समाधान पनि गर्न सक्ने व्यवस्थापक अर्यालले बताए ।

स्याङ्जामा ६१६ क्वारेन्टाइनमा, तीन घर फिर्ता

लकडाउनको १३औँ दिनसम्ममा स्याङ्जामा ६१६ क्वारेन्टाइनमा बसेका छन् भने तीन जना घर फिर्ता भएका छन् । जिल्लाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा ६१६ जना बसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।

स्याङ्जामा होम क्वारेन्टाइनमा ५७०, विभिन्न स्थानीय पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा ४६ गरी कूल ६१६ जना क्वारेन्टाइनमा बसेका प्रनाउ भण्डारीले बताए । उनका अनुसार विदेशबाट आएर कम्तीमा दुई हप्ता क्वारेन्टाइनमा बसेका तीन व्यक्ति सोमबार घर फिर्ता भएका छन् । “एक पालिकाबाट अर्को पालिका र एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएसँगै यसको कार्यान्वयन प्रभावकारी भएको छ”, प्रनाउ भण्डारीले भने, “लकडाउनका बेला अत्यावश्यक कामबाहेक सडकमा सवारी साधन नचलाउन र घरबाहिर पैदलसमेत ननिस्कन आग्रह गरेका छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्