सुनसरीमा सिँचाइ र बाली भित्र्याउन समस्या



सुनसरी : देश लकडाउन भएका बेला सुनसरीका कृषकलाई समस्या भएको छ । कोरोना भाइरस कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको बेला कृषकलाई खेतबालीमा सिँचाइ गर्न र उत्पादन भएको बाली भित्र्याउन समस्या भएको हो ।

जिल्ला सदरमुकाम इनरुवासहित कोशी, हरिनगर, देवानगञ्ज, बराहक्षेत्र, बर्जुलगायत गाउँपालिका तथा नगरपालिकामा रहेका कृषकले लकडाउनका कारणले इन्धन, मलखाद र मजदूर नपाएका कारणले उत्पादन भएको बाली घर भित्र्याउन र लगाइएको बालीमा सिँचाइ गर्न समस्या भएको देवानगञ्ज गाउँपालिका– ७ का कृषक बलराम यादवले बताए ।

आफूले ६ बिघा जग्गामा मकै खेती गरेको र इन्धन नपाएका कारणले सिँचाइ नहुँदा खेतमै सुक्ने गरेको कृषक यादवको भनाइ छ । जिल्लामा अहिले मकै र मौसमी तरकारी खेतीलगायत खेतबारीमै सुकेको तथा गहुँलगायत उत्पादन भएको बाली भित्र्याउनका लागि मजदूर नपाउँदा आफूहरुलाई तनाव उत्पन्न भएको कृषक डुमरलाल मेहताले बताए।

तेल पर्याप्त मात्रामा आएका बेला उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने गरेको सुनसरी आयल सप्लायर्सका सञ्चालक मनीष माणुले बताए । अहिले पर्याप्त मात्रामा तेल नआएका कारणले कृषकले माग गरेबमोजिमको नपाएको सप्लायर्सका सञ्चालक माडुको भनाइ छ ।

स्थानीय प्रशासन तथा सुरक्षा निकायले लकडाउनका बेला घरबाट बाहिर निस्कन नदिने गरेका कारण तेल लिनका लागि कसरी जाने र लगाइएको बालीमा कसरी सिँचाइ गर्ने भने चिन्ताले सताएको कृषक यादवको भनाइ छ । तेल तथा मलखाद लिनका लागि बाहिर निस्कँदा प्रहरीले ज्यादती गर्ने गरेको कृषकले गुनासो गरेका छन् ।

कृषकको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत पहल भइरहेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नुनुलाल उराँवले बताए । लकडाउनका बेला कृषकलाई सिँचाइ र बाली भित्र्याउन समस्या भएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख उराँवले जानकारी दिए ।

कृषकको समस्याका विषयमा आफूसमक्षसमेत गुनासो आएकाले समाधानका लागि पहल भइरहेको उनको भनाइ छ । सुनसरीमा उत्पादित सामग्री जिल्लामा मात्र नभई बाहिरसमेत जाने गरेको छ । यस वर्ष जिल्लामा कृषि उत्पादनमा कमी आउने उराँव ठोकुवा गर्छन । रासस

प्रतिक्रिया दिनुहोस्