कोरोनाको त्रासले छोएन चैतली मेलालाई



बझाङ : मुलुक नै कोरोनाभाइरस (कोभिड–१९)को त्रास र सन्त्राससँग जुधिरहेको बेला बझाङ जिल्लाको दबिस पाथिभेरा गाउँपालिकामा २४ गतेबाट शुरु भएको चैतरी मेलामा हजारौँको सहभागी भएका छन् ।

लकडाउनको बेवास्ता गरी मेलामा हजारौँको भिडभाड जुट्दा कोरोना फैलिने सम्भावना देखिएको छ ।

रोजगारीका लागि भारत गएका धेरै मानिसहरु लुकिछिपी गाउँमा फर्किसकेका छन् । भारतबाट फर्केका केही क्वारेन्टाइनमा बसेका भए पनि केही मानिसहरु बजारतिर हिँडिरहेका छन् ।

सरकारले वैशाख ३ गतेसम्म लकडाउन थपेको छ । तर, पौराणिक र धार्मिक बान्निकी चैतली मेला मनाउन गाउँगाउँबाट भक्तजनहरु आएका हुन् । नेपालमा कोरोनाका ९ जना संक्रमित भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत गर्न रोक लगाएको बेला भिडभाडसहित हजारौंको संख्यामा बान्निकी चैतली मेला भव्य रुपमा सञ्चालन गरेर स्थानीय तहले सरकारको निर्देशनको अटेरी गरेको स्थानीय आसिस सिंहले बताए ।

सानो लापरबाहीले गर्दा कोरोनाले महामारीको रुप लिन सक्ने भन्दै सबैले सचेत रहनुपर्ने उनको भनाइ छ ।

सदरमुकाम चैनपुरमा प्रहरीले माइकिङ गरी अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन सर्वसाधारणलाई अनुरोध गरिरहेका बेला गाउँमा भने लकडाउनको कुनै प्रभाव परेको देखिएको छैन भने सरोकारवालाहरु मुकदर्शक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्