कोरोना महामारीको त्रासका कारण नेपालमा पनि ‘अन्धविश्वास बढिरहेको छ’



काठमाडौं : कोरोनाभाइरस महामारीको त्रास फैलिएको बेला नेपालीहरूले पनि पूजापाठबाहेक घरको मूलढोका अगाडि आँगन खनेर त्यहाँबाट निस्किने कालो माटोको टीका लगाउने, बत्ती बाल्ने तथा शङ्घ र घण्ट बजाउने जस्ता गतिविधिहरू गरिरहेको भन्दै सामाजिक सञ्चालमा चर्चा भइरहेको छ।

कतिपयले त्यसो गर्दा लाभ हुने कुनै वैज्ञानिक आधार नभएको भन्दै त्यसो गर्नेलाई “अन्धविश्वासी” भनिरहेका छन् भने कतिले त्यसको प्रतिरक्षा पनि गरेका छन्।

केहीले भने रोग नियन्त्रणका लागि सरकारले अत्यावश्यक काममा बाहेक अरू बेला घरमै बस्नु भनेकाले बढ्दो मानसिक तनाव कम गर्न “त्यस्ता गतिविधिमा सहभागी लिएको” प्रतिक्रिया जनाएका छन्।

विज्ञहरूले भने विश्वभरि कोरोनाभाइरससँग जोडेर विभिन्न खाले मिथ्या कुराहरू फैलाउने क्रम बढेको भन्दै नेपालमा भइरहेका यी गतिविधिलाई पनि त्यस्तै क्रियाकलापसँग जोडेर हेर्नुपर्ने बताएका छन्।

नेपालमा कस्ता क्रियाकलाप

सामाजिक सञ्जालमा कोरोनाभाइरस सङ्क्रमण सुरु भएदेखि नै मानिसहरूले विभिन्न धार्मिक अनुष्ठान गरेका तस्बिर र भिडिओहरू सार्वजनिक भइरहेका छन्। केहीअघि नेपालकै कतिपय स्थानमा कोरोनाभाइरस नेपालमा भित्रिन नदिन भन्दै यज्ञ र पूजाआजा गरिएका भिडिओ सार्वजनिक भएका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक ती भिडिओको आधिकारिकता बीबीसीले स्वतन्त्र रूपमा पुष्टि भने गर्न सकेको छैन। त्यस्तै कास्कीमा एक इसाई पादरीले कोरोनाभाइरस भगाउन भन्दै चिच्याएर गरेको प्रार्थना सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

उनले आफ्नै ट्विटरमा पनि त्यस्ता सामग्रीहरू राखेका थिए। त्यसैका आधारमा कोरोनाभाइरसबारे भ्रम फैलाएको भन्दै उनलाई स्थानीय प्रशासनले कारबाही गरेको खबर पनि सार्वजनिक भएको थियो।

केही दिनअघिदेखि मध्यतराई तथा पश्चिम नेपालका केही क्षेत्रमा मानिसहरूले घरको मूल ढोकाको ठिक अगाडि आँगनमा खनेर त्यहाँबाट निस्केको कालो माटोको टीका लगाएको भिडिओ सामाजिक सञ्जालमा व्यापक भइरहेको छ। त्यस्तो टीका लगाउँदा कोरोनाभाइरस नलाग्ने दाबी गरिएका ती भिडिओको आधिकारिता पनि पुष्टि गर्न सकेको छैन।

यसै बीच सामाजिक सञ्जालमार्फत् नै मानिसहरूले आह्वान गरेका आधारमा आइतवार साँझ धेरै नेपालीहरूले घरमा दीपावली र शङ्खध्वनि गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतवार नै भारतमा पनि कोरोनाभाइरस विरुद्ध एकताबद्ध हुन भन्दै उस्तै खाले दीपावली गरिएको थियो।

नेपालमा भने आइतवार “शनि प्रदोष व्रत”का रूपमा दीपावली गरिएको कतिपय त्यस्तो कार्यमा सामेल हुनेहरूले बताएका छन्। केहीले दीपावलीका साथ ताल समेत ठटाएका भिडिओहरू सामाजिक सञ्जालमा बाँडिएका छन्।

के भन्छन् विज्ञ?

सामाजिक सञ्जालमा भाइरल भइरहेका यस्ता गतिविधिबारे बीबीसीले समाजशास्त्री, मनोवैज्ञानिक, संस्कृतिविद् र त्यस्तै क्रियाकलापमा सहभागी व्यक्तिसँग जिज्ञासा राखेको थियो।

समाजशास्त्री र मनोवैज्ञानिकहरूले यस्ता क्रियाकलापहरूलाई अन्धविश्वासको रूपमा अर्थ्याएका छन्। तर कुरा गरेका एकजना संस्कृतिविद्ले भने यस्ता क्रियाकलापमा पनि वैज्ञानिक तत्त्व रहेको बताए।

कतिपय धर्म र संस्कृतिसँग जोडिएका यस्ता क्रियाकलापबारे समाजशास्त्री मनोवैज्ञानिक र संस्कृतिविद्ले व्यक्त गरेका विचार उनीहरूकै शब्दमा

‘आलोचनात्मक चेतको कमी’

विन्दु पोखरेल, समाजशास्त्री

डर र त्रास बढी भएका बेला मानिसहरूको धर्म र अन्धविश्वासप्रति आस्था बढ्न जान्छ। अहिले कोरोनाभाइरसका कारण मानिसमा डर पैदा भएको छ। यसबेला मानिसहरूले पुर्खादेखि गर्दै आएको कुरा हो गर्दा के बिग्रेला र भन्ने सोचेर यस्ता गतिविधिमा लाग्छन्।

कतिले अन्धविश्वासका कारणले, कतिले रमाइलोका कारणले र कतिले लहैलहैमा लागेर पनि यस्ता गतिविधि गरिरहेका हुन्छन्। डर र त्रासका बेला यस्ता गतिविधि बढ्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्।

अर्को भनेको मानिसले केही कुराको आशा राखेर पनि यस्तो गर्छन्। खासमा धर्मको आरम्भ नै डर र आशाका कारण भएको हो।

नेपालमा आइतवार धेरै अध्ययन गरेका मानिसहरूले पनि लहैलहैमा लागेर दीपावली गरेको देखियो। यसको कारण भनेको हाम्रो आलोचनात्मक चेतनामा कमी छ भन्ने हो। हाम्रो शिक्षा प्रणालीले नै हामीलाई प्रश्न गर्न सिकाएको छैन। अरूले गरे हामी पनि गरौँ न त भन्ने उद्देश्यले धेरैले गरेका हुन सक्छन्।

‘डर र चिन्ताको प्रतिक्रिया’

शिशिर सुब्बा, मनोवैज्ञानिक

कोरोनाभाइरस आएपछि मानिसमा अहिले डर र चिन्ता बढेको छ। त्यसले आक्रोश पनि बढाएको देखिन्छ। यी कुराहरू खासमा व्यक्तिले महसुस गर्ने हो। तर कहिलेकहीँ यो सामूहिक पनि भइदिन्छ।

अहिले त झन् मानिसहरूले अनिश्चयका कारण असहाय महसुस गरेका छन्। यस्तो अवस्थामा चिन्ता बढ्नु स्वाभाविक हो।

अनि अहिलेको यो सामूहिक चिन्ताले प्रतिक्रिया पनि सामूहिक नै हुनपुग्छ। त्यसैले अहिले जेजति अन्धविश्वासयुक्त कुराहरूमा मानिसहरूले सहभागिता जनाइरहेका छन् त्यो भनेको डर र चिन्ताको सामान्य प्रतिक्रिया हो। यस्तो बेलामा ‘कग्नटिभ क्ल्यारटी’ अर्थात् सङ्ज्ञानात्मक स्पष्टता आउँदैन। त्यसैले मानिसहरू पुराना कुरातर्फ फर्कन्छन्।

हामी लामो समय केही नगरी सोचेर मात्र बस्यौ भने यादहरूमा भुल्छौँ त्यस्तै गरि अनिश्चय र केही पार नलाग्ने रहेछ भन्ने भएपछि पुरानै धार्मिक, सामाजिक र सांस्कृतिक मान्यतामा मान्छेले विश्वास गर्न थाल्छ।

त्यसको कारण भनेको अहिले एक्लो भएको महसुस गर्नुपरेका बेला समूहिकताको भावना आउनु पनि हो। यदि यस्तै अन्धविश्वासयुक्त गतिविधि सामेल हुँदा तपाईंले समुहमा भएको महसुस गर्नुहुन्छ भने पक्कै त्यस्ता क्रियाकलाप गर्नु नै हुन्छ।

यसले केही हदसम्म आफैँलाई सान्त्वना त दिन्छ तर मानसिक रूपमा स्वस्थ बनाउँछ भन्ने होइन। विपदका बेलामा यस्ता गतिविधि धेरै बढ्ने गरेको देखिन्छ।

‘यसमा विज्ञान पनि छ’

जगमान गुरुङ, संस्कृतिविद् तथा उपकुलपति नेपाल प्रज्ञा प्रतिष्ठान

आइतवार रविप्रदोष पनि परेकाले मानिसहरूले बत्ती बालेका हुन्। मैले पनि फेसबुकमा बाल्दा राम्रो हुन्छ भनेर लेखेको थिएँ।

भारतको प्रधानमन्त्रीले पनि आह्वान गरेका थिए। उनी त राजनीतिज्ञ मात्र होइनन्, सिद्धपुरुष पनि हुन् नि!

उनले ब्रह्मले देखेको कुरा भनेका हुन्। कोरोनाभाइरसले धेरै मान्छे मरेका छैनन्। बरु त्यो लागेपछि सातो गएर धेरै मानिसहरू मरेका छन्। त्यसकारण कोरोनाभाइरसँग लड्न सबभन्दा पहिले मन बलिलो हुनुपर्‍यो।

मन बलियो बनाउन हाम्रा यस्तै अनुष्ठानहरूले साथ दिन्छन्। यो अन्धविश्वास त होइन नि! यज्ञ र धूपबत्ती गर्दा वायुमण्डल सफा हुन्छ नि! त्यसले भाइरस भगाउन पनि सहयोग गर्छ। यस्ता कुरामा विज्ञानको तत्त्व पनि छ। तर बत्ती बाल्ने भन्दैमा मैनबत्ती बालेर हुँदेन। कि त तोरीको तेलमा कि शुद्ध घ्यूमा बाल्नुपर्‍यो नि!

‘मनोवैज्ञानिक प्रभावका लागि बत्ती बालेको हो’

सन्तोष आचार्य, दीपावली र शङ्खध्वनि गर्ने एक व्यक्ति

आइतवार रविप्रदोष व्रत हो र बेलुका बत्ती बाल्यो भने आरोग्य हुन्छ भन्ने एउटा भिडिओ भाइरल भएको थियो। मैले पनि त्यो भिडिओ हेरेँ। हाम्रो शास्त्रले पनि रविप्रदोषमा दीपावली गर्दा आरोग्य हुने भन्दो रहेछ।

मेरो घरमा केटाकेटी र बूढाबूढी हुनुहुन्छ। कोरोनाभाइरस फैलिएपछि उहाँहरू धेरै नै चिन्तामा हुनुहुन्छ।

त्यसैले मनोवैज्ञानिक उपचार होस् भनेर बत्ती बालेको हो। यसै पनि बत्ती बाल्नु भनेको अन्धकारबाट उज्यालोमा जाने हो। फेरि छिमेकी मुलुकले पनि गर्दा हामी पनि ऐक्यबद्धता जनाउन पनि गरेका हौँ। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्