अमेरिकामा डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव हुँदै



एजेन्सी : संयुक्तराज्य अमेरिकाको विस्कन्सन राज्यमा कोरोनाभाइरसको महामारी भए पनि आज (मंगलबार) डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव हुँदैछ ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विस्कन्सन राज्यमा चुनाव हुन लागेको हो । पार्टीले राज्यमा घरभित्रै बस्ने गरी आमजनतालाई जारी गरेको राज्यको आदेशलाई बेवास्ता गरी मतदानमा भाग लिन पार्टीका सदस्यहरुलाई आग्रह गरेको छ ।

राज्यका चुनावी स्थलको सुरक्षा भने नेसनल गार्डले गर्ने व्यवस्था मिलाइएको छ किनभने चुनावमा खटिएका हजारौं कार्यकर्ताले आफ्नो व्यक्तिगत सुरक्षामा खतरा भन्दै सहभागी हुन अस्वीकार गरि दिएका छन् । केही दर्जन मतदान स्थलहरु बन्द गरिएका छन्, तर खुला गरिएक केन्द्रहरुमा बिहान ७ बजेदेखि नै मतदान हुनेछ ।

चुनावी परिणाम भने मंगलबार नै घोषणा गरिने छैन । पूर्व निर्धारित मितिमै चुनाव गर्ने वा रोक्ने विषयमा अदालतमा मुद्दासमेत परेको थियो । अदालतले चुनाव पूर्व निर्धारित मितिमै गर्ने तर चुनावी नतिजा आगामी अप्रिल १३ यता घोषणा गर्न नपाइने आदेश दिएको थियो ।

जनस्वास्थ्यको कुरा उठाउँदै गभर्नरले राज्यमा चुनाव स्थगित गर्न आदेश दिए पनि सर्वोच्च अदालतले अन्तिम समयमा चुनाव रोक्न नपर्ने आदेश दिएको थियो । चुनावी मैदानमा सिनेटर बर्नी स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडेन रहेका छन् । धेरै राज्यमा बाइडेनले चुनाव जित्नु भएपनि स्यान्डर्सले आफ्नो उम्मेदवारी परित्याग गरेका छन् । चुनावमा विजयी हुनेले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

जो बाइडेनले विस्कन्सन राज्यको चुनावमा आफू विजयी हुने र अन्तिम नतिजा पनि आफ्नै पक्षमा आउने बताएका छन् । उनले बर्नी स्यान्डर्सको विजय हुने सम्भावना टर्दै गएको पनि दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्