कोरोनाको डर : जनकपुरका अधिकांश डाक्टर ड्युटी आउन छाडे, कतिपय दिए राजीनामा



जनकपुरधाम : एकातर्फ सर्वोच्च अदालतले कोरोना भाइरसको उपचारबाट नपन्छिन निजी अस्पताललाई आदेश दिएको छ भने अर्कोतर्फ अधिकांश निजी अस्पतालमा कार्यरत डाक्टरहरु बिना कुनै जानकारी गायव भएको देखिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलेसमेत राज्यको सेवा सुविधा लिने अस्पतालहरुको लाइसेन्स खारेज गर्ने तथा बिरामी जाँच गर्नबाट पन्छिने चिकित्सकहरुलाई कारबाही गर्ने चेतावनी दिएका थिए । यद्यपि सर्वोच्च अदालतको आदेश तथा मुख्यमन्त्री राउतको चेतावनीका बावजुद प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामकै अस्पतालहरुबाट डाक्टरहरु जानकारी नै नदिई गायब भएका छन् ।


जनकपुरधामका दर्जनौं निजी अस्पतालमा कार्यरत डाक्टरहरु कोरोनाको त्रासका कारण अस्पताल प्रशासनलाई कुनै जानकारी नै नगराई गायव भएको एक निजी अस्पतालका सञ्चालकले बताए ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालहरुमा आएर काम गर्न इच्छुक निजी अस्पतालका डाक्टरहरुलाई पनि सरकारी डाक्टर सरह सेवा सुविधा दिने घोषणा गरेको थियो ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टरहरु सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरेर कामको अवसर दिने निर्णय गरेको थियो । तर ति सबै निर्णय र अबसरलाई लत्याउँदै यतिबेला जनकपुरका अधिकांश निजी अस्पतालमा कार्यरत डाक्टरहरु कोरोना भाईरसको डरका कारण सम्बन्धित अस्पताल प्रशासनलाई कुनै जानकारी नै नदिई ड्युटीमा आउन छाडेका छन् ।

जनकपुरधामका नाम चलेका प्रायः सबै निजी अस्पतालहरुले ओपिडी बन्द गरेका छन् । नाम चलेका अस्पतालहरुले आकस्मिक सेवा सुचारु राखेको भएपनि विरामीलाई उपचार गर्न नमानिरहेको अवस्था छ । कोरोना भाइरसको संक्रमणको शंकास्पद विरामी आउने डरले निजी अस्पतालको गेटमै कडाई गरिएको छ । उनीहरुले टाउको दुखेको, खोकी लागेको र ज्वरो आएको विरामीलाई अस्पताल नछिराउने र आकस्मिक भन्दै छिरेमा तत्काल सरकारी अस्पतालमा रिफर गर्न थालेका छन् ।

जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल प्रालिमा गत आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ बस्ने राजा सहनीले आफ्नो डेढ बर्षिय छोरा आदित्य सहनीलाई ज्वरो लागेपछि जचाउँन जाँदा अस्पतालमा डाक्टरको लागि करिव एक घण्टा पर्खिनु पर्यो तर डाक्टर सम्पर्कमा आएनन् । पछि अस्पतालका सञ्चालक डा.सुरेन्द्र यादवलाई सञ्चारकर्मीले फोन गर्दा उनले झर्को स्वरमा जवाफ दिंदै भने,‘मैले उपचार गर्ने हो र ? म काममा व्यस्त छु । त्यहाँ इमरजेन्सीमा गएर कुनै डाक्र-लाई भन्नुस ।’

डाक्टर यादव सम्बन्धि क्षेत्रको केन्द्रिय राज्यमन्त्री बनिसकेका व्यक्ति हुन् तर उनको यस्तो गैरजिम्मेवारपूर्ण जवाफ सुन्दा अच्चम नै लाग्यो । जनकपुरधाममा बाल अस्पताल सञ्चालन गर्दै आएका डाक्टर जामुन सिंहको अस्पतालबाट पनि कोरोनाको डरले चार जना स्वास्थ्यकर्मीले घरको दवावका कारण जागिर नै छोडेर राजिनामा दिएका छन् । डाक्टर सिंहले भने,‘अहिलेको विषम परिस्थितीमा सामान्य ज्वरोका विरामी आउँदा पनि चिकित्सकहरु डराउँछन् । त्यसैले हुनसक्छ उनीहरु ड्युटी आउन छाडेका हुन् ।’

जनकपुरधामका अस्पतालहरुबाट डाक्टरहरु नै गायब हुन थालेपछि अन्य बिरामीहरुलाई समस्या हुँदै गएको देखिन्छ । जनकपुरधाममा कुल ३५ निजि अस्पतालहरु सञ्चालनमा रहेका छन् तर ती अस्पतालहरु अहिले नाफामा मात्र सिमित भएको कोरोना संक्रमणबाट उत्पन्न वर्तमान परिस्थितिले प्रष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्